जन आकाश
काठमाडौं । शुक्रबार मात्रै “रावायणु” फिल्मको टिजर सार्वजनिक गरियो। सुदर्शन थापाले निर्देशन गरेको फिल्मको टिजरमा एक्सन दृश्यलाई प्राथमिकता दिइएको छ। यसबाट यो फिल्म एक्सनप्रधान बनेको अनुमान गर्न सकिन्छ।
यसअघि एक्सनलाई प्राथमिकता दिँदै आउट लः दफा २१९ को टिजर सार्वजनिक गरिएको थियो। यसमा अभिनेता सुशील श्रेष्ठका एक्सन दृश्यहरू समावेश छन्।
रावायणु भदौ २१ र “आउट लः दफा २१९” असोज ३ मा रिलिज हुने तय भएको छ। गत महिना एक्सनप्रधान फिल्म दान्भी रिलिज भएको थियो। यसमा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन दृश्य दिएकी थिइन्। फिल्मले राम्रो व्यापार गर्न नसके पनि चर्चा पाएको थियो।
त्यस्तै सौगात मल्ल र नाजिर हुसेनको मुख्य भूमिका रहेको “अगस्त्य” मा पनि प्रशस्त एक्सन दृश्य थिए। कुनै बेला नेपालमा अधिकांश फिल्म एक्सनप्रधान बन्थे। अरू विधाका फिल्ममा पनि एक्सन दृश्य हुन्थ्यो नै। यस्तो लाग्थ्यो, एक्सनबिना फिल्म बन्दैन ।
पछिल्लो एक दशकमा भने एक्सन फिल्म कम हुँदै गए। कमेडी, प्रेम, परिवार, समाजको कथा बोकेका फिल्म धेरै बने। एक्सन दृश्यबिनाका फिल्म दर्शकको रोजाइमा पनि परे। यो क्रम जारी नै छ।
तैपनि यसबीच बिस्तारै एक्सन फिल्म बन्न थालेका छन्। अरू विधाका फिल्ममा पनि फाटफुट एक्सन दृश्यले प्रवेश पाएका छन्।यति बेला छायांकन भइरहेका र निर्माण तयारीमा रहेका केही फिल्म यसका उदाहरण हुन्।
एक्सन अभिनेताका रूपमा परिचय बनाएका विराज भट्टको फिल्म “१२ गाउँ” एक्सनप्रधान फिल्म हो। यसमा दक्षिण भारतीय फिल्मका एक्सन कोरियोग्राफरले काम गरेका छन्। केही दिनमा टिजर आउने तयारी रहेको यो फिल्म दसैंमा रिलिज हुनेछ।
त्यस्तै सन्तोष सेनको निर्माण एवं निर्देशनको “बलिदान” पनि एक्सनप्रधान हो। यसको छायांकन केही दिनमै सुरू गर्ने तयारी छ। यसको एक्सन कोरियोग्राफीमा दक्षिण भारत र नेपालका द्वन्द्व निर्देशकले सहकार्य गर्दैछन्।
प्रदीप खड्काको शीर्ष भूमिका रहने फिल्म “पिताम्बर” मा एक्सनका दृश्य समावेश हुनेछन्। अभिनेत्री रेखा थापाले एक्सन जनरामा “काली २” बनाउने तयारी छ। नीता ढुंगाना र हरिहर अधिकारीको फिल्म “ह्रस्व दीर्घ” मा पनि एक्सन दृश्य समेटिएको बताइएको छ। द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म भएकाले पनि यसमा एक्सनलाई प्राथमिकता दिइएको अनुमान छ। यो फिल्म असोजमा प्रदर्शनमा आउनेछ।
निर्देशक दिवाकर भट्टराईले एक्सन-थ्रिलर जनरामा नयाँ फिल्म बनाउने तयारी गरेका छन्। यो फिल्मका लागि अभिनेता राजेश हमाललाई प्रस्ताव गरिएको छ।
अभिनेत्री प्रियंका कार्कीले पनि एक्सन-थ्रिलर फिल्म बनाउने तयारी रहेको बताएकी छन्। गत वर्ष एक्सन फिल्म “अगस्त्यस् च्याप्टर-१” बनाएका निर्देशक सौरभ चौधरीले एड्भेन्चर एक्सन फिल्म “कर्मा” घोषणा गरेका छन्।
यसरी हेर्दा अब एक दर्जन हाराहारी एक्सन फिल्म आउने लगभग निश्चित छ। यसले नेपालमा फेरि एक्सनप्रधान फिल्मले प्राथमिकता पाउन थालेको देखिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend