logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

२२ दिनमै सकियो “कार्साङ” फिल्मको छायांकन


  • जन आकाश
  • बुधबार, भाद्र ५ २०८१

काठमाडौं । दयाहाङ राई अभिनीत फिल्म “कार्साङ” को छायांकन सकिएको छ। सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे र भोटेकोसी गाउँपालिका क्षेत्रमा २२ दिनमा छायांकन पूरा गरिएको निर्देशक यम शेर्पाले बताए।



टिमको मेहनत र साथले समयमै छायांकन सम्पन्न गर्न पाइयो, निर्देशक शेर्पाले भने, अब पोस्टको काम त्यही अनुरूप गर्दैछौं। सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौं।

कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म “कार्साङ” लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो।

केही दिनअघि फिल्मको छायांकन सेटबाट शीर्ष कलाकारहरूको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो, जसमा अभिनेता दयाहाङ राई र नव–अभिनेत्री सिर्जना निङ्लेखु देखिएका थिए। उक्त तस्बिरबाट फिल्ममा उनीहरू रैथाने चरित्रमा रहेको अनुमान लगाउन सकिन्छ।

दयाहाङ र सिर्जनाले फिल्ममा जोडीको भूमिका निर्वाह गरेका छन्। केही म्युजिक भिडियोमा काम गरेकी सिर्जनाको यो डेब्यु फिल्म हो।

सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्ममा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ। यसअघि थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो।

फिल्ममा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय छ। बाल कलाकारमा राशी लिम्बु र सोहन थापा छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend