जन आकाश
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतसँग आदेश माग गरेका छन् । आज पाँचौ पटक म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका उनले न्यायाधीश हिमलाल बेल्बासेसँग त्यस्तो आग्रह गरेको बताइएको छ ।
इजलासमा उपस्थित एक अधिवक्ताका अनुसार करिब डेढ घण्टाको बहसपछि लामिछानेले न्यायाधीश बेल्बासेसँग ‘श्रीमान् एउटा बिन्ती बिसाउन चाहन्छु’ भन्दै समय मागेका थिए । इजलासले संक्षिप्त कुरा राख्न भनेपछि उनले लामिछानेले बाहिर नै बसेर कानुनी मुद्दा लडने वातावरण बनाइदिन आग्र गदछु भनि अनुरोध गरेका छन।
लामिछानेको भनाई उद्धृत गर्दै ती अधिवक्ताले भने, ‘श्रीमान्, मैले शुरुका दिनदेखि नै भन्दै आइरहेको छु कि म अदालतलाई सहयोग गर्छु भनेर । म यो देश छाडेर अन्त कहाँ जाउँला र ? न म कहिँकतै भाग्ने अवस्था छ । एक जिल्लाबाट अर्को जिल्ला जान परे पनि बरु म अनुमति लिएरै हिँडुला । तर, बिन्ती श्रीमान् !, म एउटा पार्टीको सभापति हुँ । मैले गर्नुपर्ने कामहरु बाहिर धेरै छन् । मलाई छाड्न आदेश दिइयोस् ।’
न्यायाधीश बेल्बासेले भने अन्य जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको स्मरण गराए । ‘तपाईविरुद्ध अन्य कुन–कुन जिल्ला अदालतले पक्राउ पुर्जी दिएका छन्, बिर्सनुभयो ? छुटेको पाँच मीनेटमा फेरि पक्राउ पर्नुहुन्छ’, न्यायाधीशको जवाफ थियो ।
लामिछानेले त्यसपछि पनि इजलाससामु केही भन्न खोजेका थिए । तर, न्यायाधीश बेल्बासेले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको आदेश सुनाएपछि उनलाई पुनः कास्की प्रहरीको हिरासतमा नै लगिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend