logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मास्टर डिग्री सकेर कृषि पेशामा गुल्मीका रबिन घिमिरे


  • जन आकाश
  • आइतबार, मंसिर २३ २०८१

काठमाडौं। गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ५ हुलाके गाउँका रबिन घिमिरे कृषि क्षेत्रमा नयाँ दिशा तय गर्दै छन्। मास्टर डिग्री सकेर कृषि पेशामा लागेका रबिनले आफ्नो भविष्य निर्माणको सिलसिलामा भैंसी फार्म खोलेका छन् र अहिले यसबाट मासिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै, पाँच जना गाउँको स्थानियलाई रोजगार समेत दिएकाछन् ।



उनले फार्म खोलेर व्यवसाय सुरु गर्ने निर्णय गर्दा धेरैले उनलाई पागल भन्ने गर्थे । तर, आज उनले दुध बेचेर मात्र महिनाको डेडदेखि-दुई लाखसम्म आम्दानी गर्दछन् । त्यति मात्र होइन, उनले गाइको मललाई पनि ३० रुपैयाँ प्रति के.जी को दरमा बिक्री गर्दै आएकाछन् ।

रबिन घिमिरेले चौरासी मिडियासँगको अन्तर्वार्तामा भने, “जब मैले फार्म खोल्ने निर्णय गरे, तब धेरैले मलाई पागल भन्न थाले। तर आज मलाई थाहा छ कि मेरो निर्णय सही थियो। अहिले, मेरो मेहनत र सोचले मलाई सफलता दिलाएको छ । उनको भनाइ अनुसार धुर्कोट गाउँपालिका क्षेत्र गाइ र भैंसी फार्मको लागि अत्यधिक सम्भावना रहेको छ । धेरै मानिसहरू सहरका सुविधाजनक स्थानतिर जान थालेका छन्, जसका कारण कृषि भूमि बाझो हुँदै गइरहेको छ। तर, यस बाझो जमिनको सही सदुपयोग गरेर फलफूल र तरकारी खेती गर्न सकिन्छ। यस क्षेत्रमा कृषिमा ठूलो सम्भावना रहेको छ।” उनले भने ।

रबिनले कृषिमा लगानी गर्दा आफ्नो भविष्य मात्र सुनिश्चित गरेको छैन, उनले गाउँका अन्य व्यक्तिहरूलाई पनि रोजगारको अवसर उपलब्ध गराएका छन्। उनी अहिले आफ्नै फार्ममा पाँच जना स्थानीयलाई काममा लगाएर आफ्नो व्यवसायको विस्तार गर्दैछन्। यसले गाउँका अन्य व्यक्तिहरूलाई आर्थिक स्वतन्त्रता र समृद्धिको बाटो खोलिदिएको छ।

उनको यो प्रेरणादायक प्रयासले गाउँका अन्य युवाहरूलाई पनि कृषि क्षेत्रमा अवसर र आशा देखाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend