जन आकाश
रामेछाप। गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेको गर्जाङमा आगामी फागुन १४ गतेदेखि १७ गतेसम्म गोकुलगंगा युवा सञ्जालद्वारा बागमती प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता भव्यतासाथ आयोजना हुने भएको छ।
उक्त प्रतियोगिताको प्रमुख उद्देश्य भलिबल खेलको विकास, नयाँ खेलाडीको उत्पादन र स्थानीय स्तरमा खेलकुदको प्रबर्द्धन गर्नु हो।
प्रतियोगितामा बागमती प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिकाबाट टिमले भाग लिन सक्नेछन्। यस खेलमा सहभागिता जनाउने टोलीहरूले उत्कृष्ट प्रदर्शन गरी पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन्।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, द्वितीय स्थान प्राप्त गर्ने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ, तृतीय स्थानको टोलीले ५१ हजार १ सय ११ रुपैयाँ र चौथो स्थानको टोलीले २५ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडिलाई ७ हजार ५ सय रुपैयाँ र उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट ब्लकरलाई ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता राष्ट्रिय स्तरमा भलिबल खेलको प्रबर्द्धनको साथसाथै गोकुलगंगा गाउँपालिकाका पर्यटनको विकास, स्थानीय खेलकुदको प्रगति, संस्कृति र पहिचानको प्रचार गर्ने, साथै सामाजिक सम्बन्ध र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले खेल आयोजना गरिएको गोकुलगंगा युवासन्जालका अध्यक्ष अनृुज खड्काले बताएकाछन् ।
प्रतियोगिता सञ्चालनका लागि आयोजकहरु अहिले तयारीमा जुटिरहेका छन् र खेलाडीहरूको उत्साह र जोशले प्रतिस्पर्धा थप रोचक बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend