logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नव अरुणिमा अभिभावक दिवस’ सम्पन्न


  • जन आकाश
  • बुधबार, माघ ३० २०८१

काठमाडौ ।‘सर्वाङ्गीण व्यक्तित्व विकासका लागि शिक्षा’ भन्ने मूल मन्त्रमा केन्द्रीत अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ मा सञ्चालित नवअरुणिमा माध्यमिक विद्यालयले अभिभावक दिवसको अवसरमा विविध साङ्गीतिक एवम साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।



कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तथा अर्थ समिति सभापति सन्तोष चालिसेले सैद्धान्तिक भन्दा पनि जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानको इतिहास र वर्तमान अवस्थाको समीक्षा प्रस्तुत गर्नुभयो भने नव अरुणिमा मा.वि.का प्रिन्सिपल अर्जुनप्रसाद दङ्गालले शैक्षिक सत्र २०८०।८१ का उपलब्धि सहित विद्यालय प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहनु भएका वरिष्ठ समाजसेवी एवं साहित्यिक व्यक्तित्व गोपालप्रसाद बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका गुठियार शम्भु प्रसाद बडाल, केशव जोशी, घनश्याम आचार्य क्षेत्री, अर्जुन शाक्य लगायतको उपस्थिति रहेको थियो ।

अभिभावकका तर्फबाट प्रतिनिधिका रुपमा प्रह्लाद कार्कीले विद्यालयको श्रीबृद्धि सहितको मन्तव्य प्रस्तुत गर्नुभयो ।

विद्यार्थीहरूका गीत, नृत्य, एकाङ्की नाटक लगायतका कार्यक्रमहरू अवलोकन पश्चात् गोकर्णेश्वर नगर पालिकाकी उपमेयर सान्नानी लामाले विद्यार्थीहरूलाई पढाइसँगै सहशैक्षिक क्रियाकलाप र सन्तुलित खानपान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठान अन्तर्गत सञ्चालित अन्य विद्यालय तथा कलेजका प्रिन्सिपलहरूको पनि उपस्थिति रहेको थियो । सोही अवसरमा कार्यक्रमका सभाध्यक्ष गोपाल प्रसाद बरालले आफ्नो स्व. भान्जा अमोद पराजुलीको स्मृतिमा अरुणिमा शैक्षिक प्रतिष्ठानका क्रिकेट खेलाडीहरूलाई पुरस्कार व्यवस्थापन गर्न पाँच लाख पाँच हजार पाँच सय पच्पन्न रुपैयाँको अक्षय कोष खडा गर्ने घोषणा गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend