logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

चार महिनामा सकियो “बलिदान” को छायांकन


  • जन आकाश
  • आइतबार, फाल्गुन ४ २०८१

काठमाडौं । घोषणादेखि नै चर्चामा रहेको फिल्म “बलिदान” को छायांकन सकिएको छ। समीर भट्ट अभिनीत फिल्मको छायांकन चार महिनामा पूरा भएको हो।



निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट फिल्म निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकन चरण पार गरेको जानकारी दिएका छन्। शुक्रबार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा अभिनेता समीर र अभिनेत्री ऋचा शर्माको अन्तिम दृश्य खिच्दै छायांकन पूरा गरिएको हो।

छायांकन सकिएपछि निर्देशक सेनले भने, कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक, र प्रविधिको छनोट, हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौं। शारीरिक, मानसिक र भावनात्मक रूपमा धेरै संघर्ष गर्‍यौं, तर फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौं।

निर्माण टोलीको मेहनतबारे पनि खुलेर प्रशंसा गरे। यो फिल्म देशका लागि केही गर्ने जोस र हुटहुटीले बनेको सेनको भनाइ छ। अब फिल्मको सम्पादन कार्य छिट्टै सुरू हुने र पोस्ट प्रोडक्सनका क्रममा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनले बताए।

फिल्मको प्रदर्शन मितिबारे भने अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ।

यस फिल्ममा “१२ गाउँ” बाट व्यापक चर्चा पाएका अभिनेता समीर भट्टको प्रमुख भूमिका र साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय छ।

फिल्ममा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचिएको जनाइएको छ।

फिल्मको क्लाइमेक्स दृश्यहरू छायांकनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो।

आसुसेन फिल्म्स प्रा.ली. को प्रस्तुति रहेको बलिदानमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह–निर्माता छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend