जन आकाश
विनोद कार्की ।
रामेछाप । गोकुलगंगा युवा सञ्जालको आयोजनामा बागमती प्रदेशस्तरीय अन्तर–पालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। ‘गोकुलगंगा च्याम्पियनशिप–२०८१’ नाम दिइएको यो प्रतियोगितामा बागमती प्रदेशभरका १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
गोकुलगंगा युवा सञ्जालका अध्यक्ष अनुज खड्काका अनुसार ‘युवाहरुको उर्जा नै प्रगतिको मूख्य शक्ति हो’ भन्ने नारासहित आयोजना गरिएको यस प्रतियोगितामा आयोजक संस्था स्वयंले पनि सहभागिता जनाएको छ।
प्रतियोगिता उद्घाटनको पूर्वसन्ध्यामा स्थानीय युवाहरुले मोटरसाइकल ¥याली निकालेका थिए। आयोजकका अनुसार गोकुलगंगा क्षेत्रको सामाजिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय प्रवर्द्धन गर्ने तथा उत्कृष्ट खेलाडी पहिचान गरी उनीहरुलाई उच्चस्तरीय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। साथै, गौरव, सामाजिक एकता तथा सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्य प्रतियोगिताले बोकेको छ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुने टोलीलाई १ लाख १ हजार १११ रुपैयाँ, तेस्रो हुनेलाई ५१ हजार १११ रुपैयाँ, र सान्त्वना पुरस्कारस्वरूप २५ हजार १११ रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई ७ हजार ५०० रुपैयाँ पुरस्कार दिइनेछ भने उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, ब्लकर, सर्भर, तथा कोचलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ।
गोकुलगंगा–१, चुचुरे (गर्जाङ) मा आयोजना गरिएको च्याम्पियनशिपको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गरेका थिए। प्रमुख अतिथिका रूपमा उद्घाटन गर्दै मन्त्री काफ्लेले खेल क्षेत्रको विकासमा प्रदेश सरकार सधैं प्रतिबद्ध रहेको बताए। उनले यस्ता प्रतियोगिताले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत सघाउने विश्वास व्यक्त गरे।
उनले जट्टेश्वरी माविको कम्पाउण्ड घेराबारका लागि आगामी बजेटमा व्यवस्था गरिने र गर्जाङ जाने बाटोमा पर्ने चाके खोलामा पुल निर्माणका लागि बजेट विनियोजन गरिने घोषणा गरे।
प्रतियोगिता यही फागुन १७ गते सम्पन्न हुनेछ। समापन समारोहका प्रमुख अतिथि नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) रहनेछन्।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend