जन आकाश
काठमाडौं । काठमाडौं विश्वविद्यालय केयू प्राध्यापक संघले तीन दिनभित्र उपकुलपति नियुक्ति नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सभापति डा. विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले बिहीबार विज्ञप्ति जारी गर्दै नयाँ उपकुलपति नियुक्तिका लागि चेतावनीसहित समयसीमा दिएको हो ।
तीन दिनभित्रमा आवश्यक प्रक्रियालाई टुंग्याई नयाँ उपकुलपति छनौट गरी कार्यसम्पन्न गर्नुहुनका निम्ति काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ हार्दिक अपिल गर्दछौं, विज्ञप्तिमा लेखिएको छ,कथंकदाचित सो अवधिभित्र पनि नयाँ उपकुलपति नियुक्त नहुने हो भने यस काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु तय गर्न बाध्य हुने पनि यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई सचेत गराउँदछौं ।
उपकुलपतिको नियुक्ति कार्यविधिभित्र रहेर प्राध्यापक, कर्मचारी र विद्यार्थीको समस्या बुझेको, स्रोत जुटाउन सक्ने, विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सक्ने उच्च प्राज्ञिक क्षमता भएको व्यक्तिलाई नै उपकुलपति नियुक्त गर्न संघले आग्रह समेत गरेको छ । नयाँ उपकुलपतिको नियुक्ति लम्बिँदा विश्वविद्यालयभित्र तथा बाहिर असमञ्जस्यता, मनगढन्ते बयानबाजी एवं विवादजस्ता गतिविधि भइरहेको र त्यसले प्राज्ञिक वातावरण धुमिलिएको संघको भनाइ छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend