जन आकाश
काठमाडौं । आइसिसी विश्वकप लिग-२ मा अहिले नेपाल दबाबपूर्ण स्थितिमा छ। आठ टोली सहभागी लिगमा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ।
नेपालले १२ खेल खेल्दा केवल २ खेलमा मात्र जित निकाल्न सकेको छ। नेपालको ६ अंक मात्र छ। अंक तालिकाको पुछारमा रहेको युएईको पनि ६ अंक छ। रनरेटमा युएईलाई नेपालले पछि पारेको स्थिति छ।
लिग-२ को शीर्ष चारमा रहेर एकदिवसीय मान्यता जोगाउन नेपालका लागि सन् २०२५ का तीन वटा सिरिज महत्वपूर्ण छ। यो वर्षको पहिलो सिरिज खेल्न नेपाली टोली बुधबार युकेतर्फ गएको छ।
नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ।
त्यसपछि स्कटल्यान्ड जाने नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ। नेपालले लिग-२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ। लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।
यो भ्रमणलाई नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले पनि महत्वपूर्ण भएको बताएका छन्। उनले सिरिजअघि इंग्ल्यान्डमा काउन्टी टोलीसँग खेल्दा नेपालले त्यहाँको कन्डिसनबारे थाहा पाउने बताए भने कन्डिसन चुनौतीपूर्ण र अपरिचित हुन सक्नेतर्फ पनि सचेत गराए।
उनले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको सिरिजमा सबै खेल जित्ने लक्ष्य भएको बताए। तर दुवै टोली बलिया भएको र स्कटल्यान्डको मैदानमा खेल्न गाह्रो हुने कुरा उनले स्विकार गरे।
स्कटल्यान्डको सिरिज नेपालका लागि महत्वपूर्ण भएको र हार्ने बानीलाई तोड्दै जित्ने बानी विकास गर्नुपर्ने लको भनाइ छ। आफ्नो लक्ष्य लिग-२ मा शीर्ष चारमा रहेर एकदिवसीय मान्यता जोगाउनु भएको पनि लले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend