जन आकाश
काठमाडौं– फरक कथा बस्त, स्तरीय भीएफएक्स र सशक्त एक्सनमा फिल्म ‘महाकाव्य’ निर्माण हुने भएको छ ।
सोमबार थिम पोस्ट सार्वजनिक गर्दै फिल्मको निर्माण घोषण गरिएको हो । खुसी फिल्म्सको व्यानरमा निर्माण हुन लागेको फिल्मको निर्देशन मदन खड्काले गर्ने छन् भने खड्काले सोहि फिल्म बाट फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् । शान्ति मगरको निर्माण रहने फिल्ममा शुक्रराज शाहको द्वन्द्व निर्देशन रहनेछ ।
‘महाकाव्य’ले दर्शकलाई अद्भूत सिनेम्याटिक अनुभव दिने निर्देशक खड्काको दाबी छ । उनी भन्छन्, ‘ऐतिहासिक, पौराणिक र आधुनिक फेन्टासीको संयोजनमा फिल्म आधारित हुनेछ । नेपाली संस्कृति, मिथक (अलौकिक घटना), र हराउँदै गएका पवित्र स्थलहरुको कथालाई भिजुअलको माध्यमबाट प्रस्तुत गर्नेछौं । यो नेपाली फिल्मको इतिहासमै नयाँ युगको सुरुवात हुनसक्छ ।’
आगामी भदौबाट छायांकन सुरु गर्न लागिएको फिल्मको मुख्य भूमिकामा एक कलाकारलाई प्रस्तुत गरिँदैछ । ती कलाकारको नाम भने सार्वजनिक गरिएको छैन । उनले लामो समयदेखि शारीरिक रुपमा परिवर्तन गर्नुका साथै एक्सन र नृत्यको तालिम लिएका छन् । हाल उनी अन्तिम तयारीमा छन् । फिल्मलाई यसै वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend