logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

खमेश श्रेष्ठको निर्देशनमा ‘पापी मान्छे’ म्युजिकल फिल्म सार्वजनिक, जातीय विभेदविरुद्धको सशक्त प्रस्तुति


  • जन आकाश
  • आइतबार, असार २९ २०८२

काठमाडौं । जातीय विभेद, छुवाछुत र धार्मिक रूढीवादी परम्पराले आजसम्म पनि समाजमा पारेको नकारात्मक प्रभावलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक भएको छ।



बहुप्रतिभाशाली निर्देशक खमेश श्रेष्ठको सशक्त निर्देशनमा तयार भएको यस म्युजिकल फिल्मले नेपाली समाजमा अझै गहिरो गरी गढिएका जातीय अन्याय र भेदभावको पीडादायी यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

‘पापी मान्छे’  म्युजिकल फिल्म भरत उदासी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। जातीय विभेदविरुद्ध आवाज उठाउने उद्देश्यले निर्माण गरिएको यो फिल्मले दर्शकलाई सोच्न बाध्य पार्ने भावनात्मक कथा बोकेको छ। केही मिनेटको गीतलाई झन्डै एक घण्टा लामो म्युजिकल फिल्मका रूपमा विस्तार गरेर, निर्देशक श्रेष्ठले सामाजिक यथार्थलाई अझ प्रभावकारी रूपमा पर्दामा उतारेका छन्।

निर्देशक खमेश श्रेष्ठको निर्देशनमा कलात्मक र सामाजिक चेतना दुबै खमेश श्रेष्ठ नेपाली म्युजिक भिडियो र टेलि -चलचित्र निर्देशनमा अब्बल पहिचान बनाउँदै आएका कुशल निर्देशक हुन्। सामाजिक यथार्थमा आधारित कथालाई सरल, संवेदनशील र प्रभावशाली शैलीमा प्रस्तुत गर्ने उनको क्षमता ‘पापी मान्छे’ मा झल्किएको छ। दर्शकलाई गहिरो भावनात्मक यात्रामा लैजाने शैली, पात्रहरूको अभिनय सशक्त बनाउने निर्देशन दृष्टिकोण, र कथाको गहिराइलाई जीवन्त ढंगले प्रस्तुत गर्ने उनको कला प्रशंसायोग्य छ।

खमेश श्रेष्ठले आफू निर्देशन गरेको यो म्युजिकल फिल्म कुनै काल्पनिक कथा नभई वास्तविक घटनामा आधारित भएको स्पष्ट पार्दै भने, “यो कथावस्तुमा निकै समयदेखि बोकेर हिँडिरहेको थिएँ। जातीय विभेदका कारण मानिसले भोग्नुपरेको पीडा र अन्यायलाई सबैले बुझून् भन्ने चाहना थियो। त्यसैले छोटो गीतलाई पनि विस्तारित गरेर सम्पूर्ण कथा देखाउनुपर्छ भन्ने लाग्यो।”

भव्य बिमोचन समारोह, विशिष्ट व्यक्तित्व र दर्शकको उपस्थिति
‘पापी मान्छे’ म्युजिकल फिल्मको सार्वजनिक बिमोचन चलचित्र विकास बोर्डमा एक भव्य समारोहबीच सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि विश्वभक्त दुलाल, विशेष अतिथि मित्र परियार, खगेन्द्र सुनार तथा ५०० भन्दा बढी दर्शकको उल्लेखनीय उपस्थिति थियो।

भरत उदासीको शब्द-संगीतमा तयार गरिएको गीतमा चर्चित गायक प्रमोद खरेलको सशक्त स्वर समावेश गरिएको छ भने संगीत संयोजन बिशाल निरौलाले गरेका हुन्। सुमन रानाको रेकर्डिङ, कुमार रानाको ध्वनि मिश्रण, हेमन्त कान्छा रसाइलीको सारङ्गी र रत्न बिकको बासुरीले गीतमा गहिरो भावनात्मक रंग भरेको छ।

रञ्जिता विश्वकर्मा, निर्मला नेपाली, सुरज बुढाथोकी र विश्वास खपाङ्गी मगरको कोरस स्वरले गीतलाई अझ प्रभावशाली बनाएको छ।

गीतमा वरिष्ठ कलाकार सुशील पोखरेल, किशोर भण्डारी, रोहित कार्की, पुष्प खड्का, आयुष्मा कार्की, देव महर्जन, सरिता भण्डारी, भरत उदासी लगायत धेरै कलाकारहरूको उत्कृष्ट अभिनय देख्न पाइन्छ। बाल कलाकार राजेन्द्र शाहशंकरको भूमिकाले पनि दर्शकको मन जितेको छ ।

गीतमा छायांकनमा रामकृष्ण कंडेलको योगदान उल्लेखनीय छ भने, मेकअप मोहन लामा र डीके हमालले गरेका हुन्। प्रकाश संयोजनमा सुमन लामा, सुजन गिरी, अनुरोध थापा, गणेश बिक, र बिजय भट्टराई तथा ड्रोन छायांकनमा कृष्ण आले मगरको भूमिका रह्यो।

विविध स्थानमा गरिएको छायांकन :
फिल्मको छायांकन ओखलढुंगा, रामेछाप, काठमाडौं, भक्तपुर लगायतका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थानहरूमा गरिएको छ। कथा अनुसारको लोकेसन चयनमा पनि निर्देशक श्रेष्ठको गहिरो दृष्टि देखिन्छ।

कल्पेश विश्वकर्माले फिल्मको सम्पादन गरेका हुन् भने पुष्कर खत्रीले मर्मस्पर्शी पृष्ठभूमि संगीत दिएका छन्। रञ्जन राईले भ्वाइस डबिङ गरेका छन्।

‘पापी मान्छे’ केवल एउटा म्युजिकल फिल्म मात्र नभई सामाजिक रूपान्तरणको सन्देश बोकेको गहिरो कलात्मक कृति हो। निर्देशक खमेश श्रेष्ठको मिहिनेत, सामाजिक संवेदनशीलता र सशक्त निर्देशन कौशलले यो फिल्मलाई अत्यन्तै सशक्त बनाएको छ। जातीय विभेदविरुद्धको यो कलात्मक अभियानले नेपाली दर्शकमाझ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend