जन आकाश
काठमाडौं। हाल नेपालमा अत्यन्त लोकप्रिय बाल गायन रियालिटी शो (The voice kids) मा सहभागी भएर आफ्ना सुमधुर प्रस्तुति मार्फत सबैको ध्यान आकर्षित गरिरहेका बाल प्रतिभा प्रसान्त सुनार प्रतिस्पर्धाको महत्वपूर्ण चरण — भोटिङमा प्रवेश गरेका छन्। उनले यसअघि बिभिन्न राउन्ड पार गरेर उत्कृष्ट गायन क्षमताको प्रदर्शन गर्दै निर्णायकको मन जित्न सफल भएका छन्।
सानै उमेरदेखि संगीतमा विशेष रुचि राख्दै आएका प्रसान्तलाई गाउने प्रेरणा आफ्नै परिवारबाट मिलेको हो। उनका ठुला बुवाका छोराहरु — दाइ बसन्त सुनार र अर्का दाइ धर्मेन्द्र सुनार — गायनमा दक्ष रहेकाले उनीहरूबाट संगीत सिक्दै उनी अगाडि बढेका हुन्। प्रसान्तको सपना भ्वाइस अफ किड्स जितेर आफ्नो परिवारका लागि पक्की घर बनाउने रहेको छ। हाल उनीहरू टिनको छानो भएको सामान्य घरमा बस्दै आएका छन्, जुन वर्षा र जाडोमा बस्न अत्यन्तै कठिन हुन्छ।
प्रसान्तका बुवा चन्द्र बहादुर सुनार र आमा मनु सुनार दिनभर ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाइरहेका छन्। बुबा चन्द्र बहादुरले सानो छँदै आफ्ना आमा-बुबा गुमाउनु परेको थियो। त्यसपछि उनी आफ्ना माइला दाजु जित बहादुर सुनार र भाउजू कल्पना सुनारको स्याहारमा हुर्केका थिए। उनीहरूको परिवारले प्रसान्तलाई सधैं माया र साथ दिँदै आएको छ।
आज प्रसान्त आफ्नो मेहनत र प्रतिभाबाट सिंगो देशको माया जित्ने यात्रामा छन्। उनीजस्ता प्रतिभाशाली बालकलाई सफल बनाउन दर्शक-स्रोताको साथ, मायाँ र भोट अति आवश्यक हुन्छ।
अब प्रसान्तको सपना पूरा गराउने जिम्मेवारी सम्पूर्ण नेपालीको काँधमा आएको छ। त्यसैले उहाँको मेहनत र प्रतिभालाई सम्मान दिँदै हामी सबैले उनलाई निरन्तर भोट गरेर जिततर्फ उन्मुख गराउन आवश्यक छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend