logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गृह मन्त्रालयले ४५ अधिकृत अध्यागमनमा पठायो, मन्त्रालयमै दरबन्दी मिलान प्रक्रिया सुरू


  • जन आकाश
  • सोमबार, साउन ५ २०८२

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४५ जना नयाँ अधिकृतलाई खटाएको छ।



अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए। घिमिरे आजदेखि हाजिर भएका हुन्।

‘लोक सेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिमपश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ,’ उनले भने, ‘अध्यागमन कार्यालयमा प्रमुखका रूपमा आउनुभएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ।’

विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सरूवा भएका घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन्।केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो।

त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ।

‘विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ,’ गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, ‘दरबन्दी भन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालय मार्फत बाहिर पठाउने काम हुन्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend