जन आकाश
काठमाडौं । सर्वनाम थिएटरको २१औं ब्याच प्रशिक्षार्थी समूहद्वारा प्रस्तुत नाटक ‘जब फुलले आकार लिन्छ’ हाल सर्वनाम रंगमञ्चमा मञ्चन भइरहेको छ। सामाजिक यथार्थ बोकेको यो नाटकमा थिएटर तथा टेली चलचित्र कलाकार राजन मुक्तानको दमदार अभिनय देख्न पाइन्छ।
राजन मुक्तानले नाटकमा ‘मालि’को भूमिका निर्वाह गरिरहेका छन्, जसले समाजको कठोर यथार्थ र मानव भावनाको संवेदनशील पक्षलाई दर्शकमाझ पुर्याउने कोशिस गरेका छन्। उनले यस भूमिकालाई जीवन्त बनाउने प्रयासमा कुनै कसर बाँकी राखेका छैनन्।
राजन मुक्तानको साधारण जीवनबाट रंगमञ्चसम्मको यात्रा :
रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका २, मझुवा टोलमा जन्मिएका राजन मुक्तान एक साधारण परिवारका जेठा छोरा हुन्। उनका पिता रोजगार मोक्तान र आमा चिनीमाया तामाङको सानो परिवारमा हुर्किएका राजनले बाल्यकालदेखि नै जीवनसँग संघर्ष गर्नुपरेको थियो।
गरिव परिवारमा हुर्केका राजन मुतानले कलाकारिता क्षेत्रमा लाग्न धेरै संघर्ष गरे । उनले आफ्नो प्रारम्भिक जीवनमा इट्टाभट्टा,गलैचा कारखानामा समेत काम गरे । त्यति मात्र नभएरा सडकमा चटपटे, पानीपुरी र खरबुजा बेच्दै कलाकारिता क्षेत्रमा लागे ।
राजन मुक्तानले विभिन्न नेपाली टेलिचलचित्र र सिरियलहरूमा अभिनय गरिसकेका छन्। हाल मञ्चन भइरहेको नाटक ‘जब फुलले आकार लिन्छ’ मा उनले निभाएको मालिको चरित्र समाजभित्रको वर्गीय संघर्ष, मिहिनेत, आशा र पीडाको प्रतिनिधित्व गर्छ। उनको अभिनयले नाटकलाई अझ प्रभावशाली बनाएको छ।
जब फुलले आकार लिन्छ’ नाटक साउन १२ गतेदेखि १८ गतेसम्म मञ्चन भइरहेको छ। नाटकले “अरुको जीवन जिउँदै आफूलाई खोज्ने” भावलाई समेटेको छ, जसले दर्शकहरूलाई सोच्न बाध्य पार्छ।
राजन मुक्तान जस्ता संघर्षशील कलाकारहरूको कथा नेपाली रंगमञ्च र फिल्म क्षेत्रमा प्रेरणादायी छ। आफ्नो मेहनत, प्रतिबद्धता र लगावबाट उनले कला क्षेत्रमा फरक पहिचान बनाइरहेका छन्।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend