जन आकाश
काठमाडौं । नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठको निर्देशनमा “लजाउदै लजाउदै” बोलको तिज गीत भोली ४ बजे देउराली मिडिया युटुब च्यानलबाट सार्वजनिक हुँदै छ ।
नेपाली नारीहरूको महान् पर्व तीजलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले परम्परागत संस्कृति र आधुनिक प्रस्तुतिको समायोजन गर्ने प्रयास गरेको छ। गीतमा लोकप्रिय सर्जक बिकास चौधरीको शब्द, संगीत सिर्जना रहेको छ भने, वरिष्ठ कलाकार रश्मि भट्टले मिठासपूर्ण आवाज दिएकीछिन् । गायिका भट्टले यसअघि पनि थुप्रै गीतहरु सार्वजनिक गरिसकेकी छिन् ।
निर्देशक श्रेष्ठका अनुसार, “लजाउदै लजाउदै” गीतले महिलाको भावनाहरूलाई सरल र रमाइलो शैलीमा प्रस्तुत गर्ने कोशिस गरिएको छ। गीतको छायांकन, सम्पादन र सम्पूर्ण प्रस्तुतिमा नेपाली महिलाको जीवनशैली, चाडपर्वसँग जोडिएको भावना, र समाजमा अझै विद्यमान परम्परागत दृष्टिकोणको प्रतिनिधित्व गरिएको छ।
गीतको भिडियोमा पनि महिला सशक्तिकरण र स्वतन्त्रता झल्काउने दृश्यहरू समेटिएको निर्देशक सुचित्र श्रेष्ठले बताएकीछिन् । तीजको अवसर पारेर सार्वजनिक हुन लागेको गीतले महिलाहरूको संवेदना, खुशी र उत्साहलाई समेट्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य लिएको निर्देशक श्रेष्ठ बताउँछिन्।
देउराली मिडियाले यसअघि पनि तीजसँग सम्बन्धित विभिन्न सांगीतिक प्रस्तुतिहरू बजारमा ल्याउँदै आएको छ, र यस वर्षको तीज गीत “लजाउदै लजाउदै” मा दर्शकको विशेष चासो र प्रतीक्षा देखिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend