जन आकाश
काठमाडौं । फिल्म “जनै हराएको मान्छे” सम्बन्धका धागाहरूले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ।
बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित प्रिमियरमा फिल्म हेर्ने अधिकांश दर्शक र कलाकारहरू भावुक बनेको निर्माणपक्षले जनाएको छ। प्रिमियरमा अग्रज कलाकार सुनील थापा, गायिका अञ्जु पन्त, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, लोकेन्द्र लेखक, अभिनेता किरण श्रेष्ठ र स्क्रिप्ट राइटर प्रदीप भारद्वाजलगायत फिल्म क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो।
उनीहरूले फिल्मले दर्शकको मन छुने र आँसु बगाउन बाध्य बनाउने प्रतिक्रिया दिएका छन्। फिल्मले बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथालाई मार्मीक ढंगले प्रस्तुत गरेको छ। उपस्थित दर्शकहरूले फिल्मको कथासँग भावनात्मक रूपमा जोडिएको र यसले आफ्नै परिवारको याद दिलाएको प्रतिक्रिया दिए। कलाकारहरू केकी अधिकारी र गायिका अञ्जु पन्तलगायत फिल्म हेर्दा रोइरहेका देखिन्थे। पूर्णबहादुरको सारंगीु जस्तो सफल फिल्मपछि विजय बरालको मुख्य भूमिकामा रहेको यो वर्षको पहिलो फिल्म हो।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशक हिमाल न्यौपाने हुन् भने निर्मातामा कमल न्यौपाने र विमल न्यौपाने छन्। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। यो फिल्म भोलि अर्थात् भदौ ६ गते शुक्रबारदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ। प्रदर्शनको पूर्वसन्ध्यामा फिल्ममा समावेश ुआधा आधी सपनाु बोलको गीत पनि युट्युबमा सार्वजनिक गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend