logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चिकित्सा शिक्षा सुधारको माग गर्दै गरिएको अनसन गेटामा समाप्त


  • जन आकाश
  • मंगलबार, भाद्र १७ २०८२

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। गोविन्द केसीले अनसन तोडेका छन् । डा। केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनसन तोडेका हुन् ।



गत आइतबारदेखि अनसन बसेका डा। केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो । मंगलबार बिहान केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगी डा.अमृत जैसीले बताए ।

‘उहाँको स्वास्थ्य अवस्था क्रमश बिग्रँदै गएको छ । मांसपेशी दुख्ने, बाउडिने लगायतका समस्या देखिएको छ,’ डा. जैसीले भने, ‘चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न मान्नुभएको छैन ।’

डा। केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिँउसोदेखि सत्याग्रह सुरु गरेका हुन् ।

चिकित्सा शिक्षा आयोगको साउन ३० बसेको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएसको सिट १३० सम्म दिने निर्णय गरेको थियो ।

आवश्यक मापदण्ड नै पुरा नगरेका निजी मेडिकललाई जथाभावी सिट तोक्दा गुणस्तर खस्कनुका साथै स्वास्थ्य सेवामा ह्रास आउने उनको तर्क छ ।

डा। केसी भन्छन्, ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ, तर शिक्षाको गुणस्तर खस्किन्छ । गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउनु हो, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो

चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धरापमा पारेको डा। केसी बताउँछन् ।

सत्याग्रहसँगै डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यसैगरी अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा. केसीले माग राखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend