जन आकाश
काठमाडौं । वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक युनिटी कप टी(२०) अन्तर्राष्ट्रिय सिरिज खेल्न युएई जाने तयारीमा रहेको नेपाली क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्न ढिलाइ हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली शुक्रबार विहान युएई जाने कार्यक्रम थियो। तर भिसा आउन ढिलाइ भएपछि नेपाली टोलीको उडानको समय अनिश्चित भएको छ।
‘अनलाइनबाट भिसा आवेदन दिन समस्या भएको सबैलाई थाहा नै छ। हामीले सबै भिसा प्रक्रिया पूरा गरिसक्यौं। युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र आइसिसीसँग समन्वय भइरहेको छ,’ लामाले भने, ‘तर अहिलेसम्म भिसा नआएकाले आज विहान जान सम्भव भएन। भिसा आउने बित्तिकै क्रिकेट टोली युएई उड्नेछ।’
यो पनि नेपालीलाई भिजिट भिसा दिन बन्दगरेसँगै कामदार भिसामा पनि कडाई गर्दै युएई नेपाली टोलीले असोज ११ देखि वेस्ट इन्डिजसँग टी(२०) सिरिज खेल्दैछ। त्यसको तयारीका लागि नेपाली टोली एक साताअघि नै त्यहाँ पुगेर अभ्यास गर्ने तयारी छ।
नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग टी(२०) सिरिज खेल्न लागेको हो। ओमानमा हुने टी(२०) विश्वकप छनोटको तयारीका लागि नेपालले दुई पटकको टी(२०) विश्वकप विजेता वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो।
वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी(२०) विश्वकपमा छनोट हुनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend