logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह ‘स्पिड’ र ‘हाँसिदेउन’ सार्वजनिक


  • जन आकाश
  • आइतबार, असोज ५ २०८२

काठमाडौं । नेपाली सङ्गीत क्षेत्रमा आफ्नो छुटुटै पहिचान बनाउन सफल गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह ‘स्पिड’ र सोही सङ्ग्रह अन्तर्गतको ‘हाँसिदेउन’ बोलको नयाँ म्युजिक भिडियो भव्य रूपमा सार्वजनिक गरिएको छ।



राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा वरिष्ठ सङ्गीतकार राजु सिंह प्रसिद्ध गीतकार लोकराज अधिकारी प्रसिद्ध सङ्गीतकार सन्तोष श्रेष्ठ लगायतले गीति सङ्ग्रहको सामूहिक विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजु सिंहले चेतन राईको सङ्गीतमा रहेको गहिरो लगाव, मेहनत र मौलिकतालाई विशेष प्रशंसा गर्दै भने, “चेतन बहुप्रतिभा भएका कलाकार हुन्। उनी गीतकार, सङ्गीतकार र गायक मात्र नभई निर्देशन र सिर्जनात्मकतामा पनि समान रूपले खारिएका व्यक्तित्व हुन्। उनका गीतहरूले नेपाली सङ्गीतको स्तरलाई अझ उचाइमा पुुर्याउनेछ।”

त्यस्तै, गीतकार अधिकारीले तीन दशकअघि चेतनसँगको पहिलो भेटलाई स्मरण गर्दै भने, “त्यसै बेला मैले चेतनमा एक फरक सोच भएका प्रतिभाशाली कलाकार देखेको थिएँ। आज उनी निरन्तर सङ्गीत सिर्जनामा लागिरहेकाले निकै गर्व लागेको छ। चेतनसँग दुई गीतमा सहकार्य गर्ने मौका पाउनु मेरो सौभाग्य हो।”

सङ्गीतकार सन्तोष श्रेष्ठले पनि डेढ दशकदेखि चेतनलाई चिनेको अनुभव सुनाउँदै भने, “चेतन सधैं मौन तर कर्मशील कलाकार हुन्। उनी बाहिर देखाउनभन्दा पनि काम गरेर देखाउन विश्वास गर्ने स्वभावका छन्। यसरी निरन्तर सिर्जनामा लागिरहनु उनीभित्रको वास्तविक सङ्गीत साधना हो।”

यस अवसरमा गायक तथा सङ्गीतकार चेतन राईले आफ्नो सङ्गीतिक यात्राको भावनात्मक अभिव्यक्ति दिँदै भने, “सङ्गीत मेरो जीवनको आत्मा हो। सुरु देखि नै श्रोता, दर्शक र सर्जक साथीहरूको साथ र प्रेरणाले मलाई यहाँसम्म ल्याएको हो। मैले बनाएका प्रत्येक गीतमा मेरो अनुभव, माया र जीवनका उतारचढाव मिसिएको हुन्छ।”

सार्वजनिक गरिएको ‘हाँसिदेउन’ बोलको भिडियोमा कलाकार सुजन सुवेदी र ज्योति खड्काको दमदार अभिनय रहेको छ। भिडियोलाई स्वयं गायक चेतन राईले निर्देशन गरेका छन् भने, छायांकन सविन तिमल्सिना, सम्पादन तथा रङ संयोजन राज धामीले गरेका हुन्। गीतका शब्द सुप्रसिद्ध गीतकार लोकराज अधिकारीका हुन् भने सङ्गीत संयोजन सबिर कार्कीले गरेका हुन्।

चेतन राईको यसअघि सार्वजनिक भएका गीतहरूलाई –दर्शकले विशेष रुचाइरहेका छन्। उनको स्वरमा रहेको मिठास र भावनात्मक गहिराइले श्रोताहरूको मन जित्ने गरेको छ। नेपाली सङ्गीत क्षेत्रमा निरन्तर आफ्नो योगदान दिँदै आएका चेतन राईलाई आजको पुस्ताले मात्र नभई भावी पुस्ताले पनि प्रेरणाको स्रोतका रूपमा हेर्ने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend