जन आकाश
काठमाडौं । च्याम्पियन जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।चन्द्रपालको नियुक्तिले नेपाल क्रिकेट लिग (एनपीएपल) मा आफूले बनाएको लिगेसीलाई निरन्तरता दिने अपेक्षा बोल्ट्स परिवारले लिएको छ।
चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्। आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढि रन बनाए।
उनीसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल) भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा खेलेको अनुभव छ। उनले खेलाडीको रुपमा काउन्टी क्रिकेटमा पनि लामो समय बिताए।
२०२२ मा ५१ वर्षे चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक बने। सोहि वर्ष उनी अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षक बनेका थिए। मंसिर १ गते देखि सुरु हुने एनपीएलमा जनकपुर डिफेन्डिङ च्याम्पियनको रुपमा चन्द्रपालको प्रशिक्षणमा कीर्तिपुर मैदानमा उत्रने छन्।
‘जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालसँग दीर्घकालीन सम्झौता गरेको छ। हामी विश्व क्रिकेटका तीव्र गतिमा बढ्दै गइरहेका लिगहरूमध्ये एकमा आफ्नो विरासतलाई अझ अगाडि लैजान प्रतिबद्ध छौँ,’ जनकपुर बोल्ट्सका प्रवन्ध निर्देशक निरोज खतिवडाले भनेका छन्, ‘उहाँको उपस्थितिले हाम्रो प्रशिक्षक टोलीलाई स्थायित्व दिनुका साथै स्वदेशी जनशक्तिलाई सिक्न र बढ्न प्रेरित गर्नेछ।
खेलका महान् दिग्गजका रूपमा उहाँले नयाँ विचार, रणनीति र दृष्टिकोण ल्याई बोल्ट्सलाई फेरि पनि विजेता बनाउने यात्रालाई बल दिने विश्वास छ।’ जनकपुर बोल्ट्सले गत वर्ष एनपीएलको पहिलो संस्करणमा च्याम्पियन बनाउने प्रशिक्षक पुबुदु दासानायकेलाई धन्यबाद दिएको छ। दासानायके हाल अमेरिकाको राष्ट्रिय टोलीका प्रशिक्षक छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend