logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विश्व कराते च्याम्पियनसिपको छनोटमा नेपालका चार खेलाडी भिड्ने


  • जन आकाश
  • बुधबार, असोज २९ २०८२

काठमाडौं । विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिता अक्टोबर १७ देखि १९ तारिखसम्म हुनेछ। त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स जाँदै छ।



एक पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। स्वनिम मानन्धरले पुरुष एकल कातामा आफ्नो कौशल प्रस्तुत गर्ने छन्।महिला ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढा र ५५ केजीमुनि सविना श्रेष्ठले चुनौती पेश गर्ने छन् ।

स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन्। यो छनोटको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणका लागि छनोट हुने छन्।

छनोटअघि नै हरेक स्पर्धाबाट २४ खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन्। एक स्पर्धामा ३२ खेलाडी सहभागी हुन पाउने छन्। बाँकी २ खेलाडी विश्वविद्यालय कोटाबाट छानिने छन्। विभिन्न १२ स्पर्धा समावेश छनोटमा ५ सय ४९ खेलाडी सहभागी हुने छन् ।

नेपालबाट सानुमाया थिङले भने इजिप्टको यात्रा पक्का गरिसकेकी छन् । सानुमायाले महिला एकल कातामा खेल्ने छिन् ।टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन्।

पेरिसमै अक्टोबर १६ मा हुने प्रशिक्षक परिक्षामा सहभागी हुन अमिर राना पनि टोलीसँगै जाने छन्। उनले टोली व्यवस्थापकको भूमिका पनि निर्वाह गर्ने बताइएको छ। टोलीका लागि सुशान्त अधिकारीले ट्रयाकसुट प्रायोजन गरेका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उप निर्देशक दीपक श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend