जन आकाश
काठमाडौं । पालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर अस्पताल बाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नाम्सबीच खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ । राखेपमा बिहीबार एक कार्यक्रमकाबीच राखेप र नाम्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकहरूलाई आवश्यकता अनुरूप विशेष सेवा दिन सम्झौता गरेका छन् ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र नाम्सका उपकुलपति प्रा।डा। भुपेन्द्रकुमार बस्नेतबीच उक्त सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर यो सुविधा दिन लागिएको छ । यो सम्झौता पाँच वर्षको हुने र पछि सहमतिमा नवीकरण हुने सक्ने गरी अगाडि बढाइएको छ ।
नेपाली खेलकुद विकासमा थप टेवा पुग्ने गरी कुल ११ वटा सर्तहरूसहित सहकार्य भएको छ। नाम्सले खेलकुदमा नै काम गर्ने प्राविधिकसँगै कर्मचारीलाई पनि यो सुविधा उपलब्ध गराउनेछ । उनीहरूले विशेष ग्राह्यताका साथ दक्ष चिकित्सकको निगरानीमा स्वास्थ्य सेवा पाउने भएका छन् ।
खेलाडीहरूले उपचारका क्रममा प्रयोगशालाबाट दिने सुविधामा विभिन्न चरणमा सहुलियत पाउनेछन् । ल्याब टेस्ट, ओपिडी, एक्सरे, भिडियो एक्सरे, अपरेसन, एमआरआई, सिटी स्क्यान र विराम भर्नालगायत सबै प्रकारका सेवाहरूमा अस्पतालको मूल्य सूचीबाट खेलाडीहरूले छुटसमेत प्राप्त गर्नेछन् । अस्पतालका सबैखाले सेवामा ओलम्पियनले सबैभन्दा धेरै ८० प्रतिशत छुट पाउनेछन् ।
त्यस्तै एसियाली र दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने तथा राष्ट्रिय टिमका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउने छन् । राखेपको सम्पर्क अधिकृतले प्रमाणिकरण गरेपछि मात्र प्रतिष्ठानले खेलाडी, प्रशिक्षक र कर्मचारीलाई उक्त विशेष सेवा दिनेछन् ।
उपचारका साथै राखेपले आयोजना गर्ने खेलकुदका प्रतियोगितामा स्वास्थ्य सम्बन्धि शैक्षिक जनचेतना, प्राथमिक उपचार, एन्टी डोपिङ, फिजियो थेरापी र पोषणा सम्बन्धि विभिन्न कार्यक्रम नाम्सले दिने सहमति भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend