logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुसेलीको ७२अ‍ौं शृङ्खला सम्पन्न


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८२

काठमाडौ । राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालको ७२अ‍ौं भर्चुअल प्रस्तुति यही मिति २०८२ कार्तिक १५ गते शनिबार सम्पन्न भएको छ ।



संस्थाकी उपाध्यक्ष ‎सुशीला ढकाल अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रमको अध्यक्षता सुसेलीका प्रवर्तक, फाउन्डेसनका संस्थापक एवम् केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ ले गर्नुभएको थियो भने विशेष उपस्थितिमा कविवर कलानिधि दाहाल, फाउन्डेसनका केन्द्रीय सल्लाहकार डा. शैलेन्दुप्रकाश नेपाल, संस्थाकी केन्द्रीय सल्लाहकार एवम् संरक्षक चन्द्रा न्यौपाने, वरिष्ठ साहित्यकार खोलाघरे साहिंलो, सुरेशचन्द्र घिमिरेलगायत हुनुहुन्थ्यो ।

‎प्रस्तुत भएका सुसेलीहरूमा कलानिधि दाहालले समालोचनात्मक टिप्पणीका साथमा केही सुसेली प्रस्तुत गर्नुभएको र चन्द्रा न्यौपानेले यस किसिमका आलोचना/समालोचनाहरूले संस्थाका साथै सुसेली उपविधाको उन्नयनमा प्रेरणादायी विशेष महत्त्व राख्ने विचारका साथमा सोको प्रतिरक्षात्मक मन्तव्य दिनुभएको थियो ।

डा.शैलेन्दुप्रकाश नेपालले दिनानुदिन विकसित हुँदै गएको सुसेली विधाको विशेषाङ्क काभ्रेको ‘जनमत’ पत्रिकाले प्रकाशन गर्न लागेको र ‘हिमाली सौगात’ ले पनि सुसेली विशेषाङ्क प्रकाशन गर्न रचनाहरू सङ्कलन गर्दै गरेको बताउनुभयो ।

अध्यक्ष भमरकोटेले सुसेलीप्रति अपनत्व राख्ने मित्रगणबाट आएका आलोचनात्मक सुझावहरूले नै सुसेलीको हित गरिरहेका बताउनुभयो र वास्तवमा आफ्नाले नै आफ्नो हित गर्छन् भन्नुभयो । सबैलाई धन्यवाद दिने क्रममा उहाँले हरिबोधिनी एकादशी, बेमौसमी वर्षा र जेन्जीसम्बन्धी सुसेलीहरू सुनाउनुभयो थियोे ।

‎सङ्गीता खरेलको सुसेलीवाचनबाट आरम्भ भएको कार्यक्रममा वाचनका सहभागीहरूमा- सुरेशचन्द्र घिमिरे, घनश्याम पौडेल, जानुका थापा रायमाझी, खोलाघरे साहिंलो, कल्पना भट्टराई, विश्वनाथ ढुङ्गेल, सविता के.सी. हुनुहुन्थ्यो ।

‎स्वतन्त्र प्रस्तुति भनिए तापनि विश्वनाथ ढुङ्गेलले आजको हरिबोधिनी एकादशी सम्बन्धी र जानुका थापा रायमाझीले हरिबोधिनी र स्वतन्त्र सुसेलीहरूसमेत सुनाउनुभएको थियो ।

त्यसरी नै सुरेशचन्द्र घिमिरे र कल्पना भट्टराईले अहिलेको बेमौसमी वर्षातका सुसेलीहरू सुनाउनुभयो भने संरक्षक चन्द्रा न्यौपानेले दुवै भावका सुसेलीहरू सुनाउनुभएक‍ो थियो ।

‎सङ्ख्यात्मकभन्दा पनि गुणात्मक हिसाबले कार्यक्रमको प्रस्तुति विशेष रहेकामा खुशी लागेको छ भन्दै सभानायकले सधन्यवाद सभाको समापन गर्नुभएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend