जन आकाश
फोटोः एपि तोलाङ
मोहन कार्की ।
काठमाडौं । सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा शुरु भएको छ । नेपालको गौरवपुर्ण खेलको रुपमा हेरिएको टि टवान्टी क्रिकेट किर्तिपुरस्थित अन्तराष्ट्रिय स्टेडियममा खेलहरु भईरहेका छन् । नव निर्मित दश हजार क्षमता प्याराफिट सहित बनेको मैदानमा नेपाली क्रिकेटरहरुले इतिहासमै पहिलोपटक फ्लडलाइटको उज्यालोमा खेल्न पाएका छन् ।
उक्त उदघाटन खेलमा गएको पहिलो एनपिएल सिजनमा प्रतियोगिताको ट्रफी उचालेको जनकपुर वोल्ट र काठमाडौ गोर्खाज टिमले प्रतिस्पर्धा गरेका छन् । पहिलो खेलमा काठमाडौ गोर्खाजले सिजन वानको विजेता जनकपुर वोल्टलाई पराजित गरेर जितको खाता खोलेको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका थिए । जनकपुरले त्यति राम्रो योगफल खडा गर्न नसक्दा काठमान्डुले सहज जित हात पारेको छ ।
खेलमा दुवै टोलीका लागि युवा खेलाडीले पनि मौका पाएका थिए । काठमान्डुका लागि युवा खेलाडी सन्तोष यादवको प्रदर्शन राम्रो रहेको थियो । यता जनकपुरका मयन यादवले पनि संयमित ब्याटिङ गरेका थिए ।
काठमान्डु गोर्खाजका अमेरिकी खेलाडी मिलिन्द कुमारले अलराउन्ड प्रदर्शन गरे भने ब्याटिङमा इंग्लिस ओपनर बेन चाल्र्सवर्थको शानदार सुरुवात भएको थियो । पहिलो खेलको पिच स्पीन बलरलाई धेरै फलदायी रहेको पनि देखिएको छ । काठमान्डुले लिएका ६ मध्ये ५ विकेट स्पीनर बलरवाट सम्भव भएकोे थियो भने जनकपुरले लिएका ५ मध्ये ४ विकेट स्पीनरले लिए ।
राष्ट्रिय टिमका आसिफको पहिलो अर्धशतक
जनकपुर वोल्टवाट खेलिरहेका राष्ट्रिय टिमका खेलाडी समेट रहेका आसिफ शेखले दोस्रो संस्करणको पहिलो खेलमा अर्धशतक बनाएका छन् । उनले ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रन बनाएर पहिलो खेलमा नै अर्धसतक बनाएका हुन् ।
आसिफले सुरुवातदेखि नै अट्याकिङ शटहरू खेलेपनि अर्को एन्डबाट विकेट गइराख्दा दबाबमा परेका थिए । फलस्वरुप उनले इनिङलाई लम्ब्याउन सकेनन् ।
आसिफको स्कोर खेलको सबैभन्दा उच्च स्कोर रह्यो तर उनको टोली भने विजयी हुन सकेन । कप्तान अनिलले पनि आसिफलाई साथ दिन अर्को इन्डमा कोही नभएको र त्यहीकारण साझेदारी नबन्दा राम्रो स्कोर खडा गर्न नसकेको बताए ।
‘आसिफले राम्रो स्टार्ट गरेका थिए, उनलाई साथ दिन कोही भएन, १३० रन धेरै कम नै बनेको हो’ अनिलले भने, ‘हामीले १५० भन्दा माथिको स्कोर सोचेका थियौ ं।’
युवा खेलाडीहरूलाई मौका
खेलमा दुवै टोलीले यू–१९ स्तरमा खेलेका खेलाडीहरूलाई पनि मौका दिएका थिए । जनकपुरका मयन यादव तथा काठमान्डुका सन्तोष यादव र आकाश त्रिपाठीले नेपालको यू–१९ टोलीबाट खेलेका छन् । यी तीनवटै खेलाडीको प्रदर्शन खेलमा राम्रो रह्यो । मयन यादवले जनकपुर ७८–५ को अवस्थामा हुँदादेखि लाहिरु समारकूनसँग साझेदारी बनाउँदै लगेका थिए ।
मयनले २९ बलमा ४ चौका र १ छक्कासहित अविजित ३४ रन बनाए । उनले लाहिरु समारकूनसँग मिलेर ४८ रनको साझेदारी गरेका थिए जुन् जनकपुरका लागि इनिङकै सर्वाधिक साझेदारी थियो ।
यता काठमान्डुका लागि सन्तोष यादवले ३ ओभरमा १७ रन दिएर १ विकेट लिए । उनले अमेरिकी ब्याटर सञ्जय कृष्णमुर्तीलाई बोल्ड गरेका थिए । त्यस्तै काठमान्डुका ओपनर आकाश त्रिपाठीले पनि ५ चौकासहित ३९ रन बनाए । उनले बेन चाल्र्सवर्थसँग मिलेर पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । त्यही सुरुवातले काठमान्डुको जितको आधार तय भएको थियो ।
फ्लडलाइटमा खेल्न पाउँदा खेलाडीहरु खुसी
पहिलोपटक नेपालमै फ्लडलाइटमा खेल्न पाउँदा खेलाडीहरू पनि उत्साहित रहे । काठमान्डुका कप्तान करण केसीले ऐतिहासिक खेल भएको र धेरै खुसी लागेको बताएका छन् । ‘ऐतिहासिक क्षण रह्यो । पहिलो खेल थियो फ्लडलाइटमा खेल्न पाउदा धेरै खुसी लागेको छ, दर्शकको पनि राम्रो साथ रह्यो’ करणले भने, ‘अलिअलि चिसो पनि भयो, तर जित निकाल्न पाउँदा खुसी नै लागेको छ ।’
यस्तै जनकपुरका कप्तान अनिल साहले पनि नेपालमै फ्लडलाइटमा खेल्ने सपना पूरा भएको बताउँदै धेरै खुसी लागेको बताए । नेपालमा पनि खेलकुद विकासको लागि एउटा मात्र भएपनि फ्लडलाइटमा खेल्न पाउने क्रिकेट मैदान बनेको छ । टि ट्वान्टी विश्वकपमा छनौट भईसकेको नेपालले यो एनपिएल सिजन टुमा नेपाली त्रिकेट खेलाडीहरुलाई फ्लडलाइटमा खेल्ने वानीको अभ्यास हुनेछ । यस अभ्यासले अन्तराष्ट्रियस्तरमा खेल्न सहज हुनेछ । नेपालले क्रिकेट प्रतियोगिताहरुमा पछिल्ला दिनमा गर्दै आएको प्रगतिलाई राष्ट्रले पनि भौतिक सरचनाको विकास गर्दै खेलाडीहरुलाई उत्साहित बनाउदै लगेको छ ।
फुटवलको लागि भक्तपुरमा ५० हजार क्षमता अट्ने रंगशाला बनाउने गुरु योजना राष्ट्रिय खेलकुद परिषदको पहलमा भन्ने समाचार आएको थियो । नेपालमा यस्ता अन्तराष्ट्रियस्तरका खेलकुदका भौतिक सरचना बनाएर प्रतियोगिता गराउन सकेमा खेलकुद पर्यटनवाट मात्रै नेपालले अराबौ अरब आम्दानी गर्न सक्ने सम्भावना रहेको छ । यतापटी सम्बन्धित निकायहरुले ध्यान दिएर दिर्धकालीन योजना आगाडी सार्न सकुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend