logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हिमालयन युनिभर्सिटी कन्सोर्टियमको सचिवालय काठमाडौं विश्विद्यालयमा


  • जन आकाश
  • शुक्रबार, मंसिर २६ २०८२

काठमाडौं । हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल) को सचिवालय धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा स्थापना गरिएको छ ।



इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)मा रहँदै आएको सचिवालय संस्थाले औपचारिक रूपमा काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो ।

इसिमोडको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै काठमाडौं विश्वविद्यालयलाई सचिवालय हस्तान्तरण गर्ने घोषणा गरेको हो ।

हिमाली विश्वविद्यालय कन्सोर्टियम सन् २००७ मा स्थापना गरिएको विश्वविद्यालयको सञ्जाल हो, जसले हिन्दूकुश–हिमालय क्षेत्रभित्रका विश्वविद्यालयहरू बीचको सहकार्यलाई सघन बनाउँदै विकासका साझा चुनौती कम गर्ने गर्छ । यसको मुख्य उद्देश्य विशेषतः पहाडी क्षेत्रमा देखिने समस्या समाधान गर्न ज्ञान आदान–प्रदानको प्लेटफर्म बनाउनु हो ।

हिमाली विश्वविद्यालय कन्सोर्टियम हिन्दुकुश–हिमालयभित्र तथा बाहिर रहेका १०० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको सञ्जालमा परिणत भइसकेको छ । इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले हिमाली विश्वविद्यालय सञ्जालको सचिवालय काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेर इसिमोड जिम्मेवारीबाट नभागेको भन्दै निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. अच्युत वाग्लेले हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीचको शैक्षिक सहकार्यमा यो नयाँ कोशेढुंगा हुने बताए ।

काठमाडौं विश्वविद्यालय क्षेत्र तथा क्षेत्रबाहिरका उच्च शिक्षण संस्थाहरूसँगको आफ्नो सहकार्यलाई अझ उपयोगी दिशामा अघि बढाउन तयार रहेको भन्दै उनले विश्व तापक्रम वृद्धि र चरम मौसमीय घटनाहरू बढिरहेका बेला हिन्दूकुश–हिमालय क्षेत्रका शैक्षिक संस्थाहरूले विश्वासनीय डेटा र अनुसन्धान विकसित गर्ने जिम्मेवारी थप बोक्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend