जन आकाश
मेरो त्रियासीयौं जन्म दिनको
सुसेली—————
——-! शङ्कर काफ्ले, भमरकोट ।
सय सालमा,
जन्म मेरो पुस नौ
भमरकोटमा!१!
पाउ देवीका
मुनि फुट्यो रुवाइ,
मेरो भवमा!२!
छैटौं रातमा,
भयो रे नाचगान,
खुसियालीमा !३!
बाजागाजा र,
भोजभतेर राम्रो ,
आँगन घर!४!
अक्षरारम्भ,
छैटौं वर्ष सातौंमा,
भो व्रतवन्ध!५!
पाठशाला त,
जोरपाटी गुरु पं.,
केदार नाथ!६!
खारें अक्षर ,
चण्डी रुद्री सुरु भो
चल्यो वाचन!७!
घोकें दुनोट,
सिकें जोड घटाउ,
गुणन भाग!८!
गुृरु विद्वान
शिष्य जोडा मेधावी
मिल्यो अचम्म!९!
महत्तम र,
लघुत्तम अभ्यास ,
लैजाने तर!१०!
त्रयराशि त,
पछिमात्र बुझें है,
यस्को प्रयोग !११!
नवौं वर्षमा,
मेरो नाम फैलियो
लेखा जान्नेमा!१२!
लेखनदास,
ज्योतिष र व्यपारी,
सिकेँ हिसाब!१३!
नमस्कार त,
गर्नथाले यिनैले
मख्ख परें म !१४!
केदारनाथ,
गुरु स्वर्गे हुनुभो,
भो बज्रपात!१५!
बिथोलियो त,
मेरो त्यो अध्ययन
श्रद्धा सुमन!१६!
म भएँ चङ्गा ,
धागो काटिएको झैं
बाटो न दिशा!१७!
तिरासी वर्ष,
हिड्न थाल्दा प्रणाम,
मनमा हर्ष!१८!
धन्यवाद ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend