जन आकाश
काठमाडौं । अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटकीय गहना मानिने मालारानी क्षेत्रलाई केन्द्रमा राखेर निर्माण गरिएको नयाँ भजन ‘मालारानी’ हाल सार्वजनिक भएको छ। स्थानीय आस्था, संस्कार र प्राकृतिक सौन्दर्यलाई समेटिएको यस भजनले जिल्लाको धार्मिक पहिचानलाई गीत–संगीतको माध्यमबाट उजागर गरेको छ।
भजनमा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल र गायिका सुनितामी परियारको स्वर सुन्न सकिन्छ। गीतका शब्द र संगीत मोतिराज खनालकै सिर्जना हुन् भने संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन्। सर्जक सुमन खनालको परिकल्पनामा तयार भएको यस भजनलाई मालारानी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको हो।
भजनसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोमा कलाकारहरू सुरबिर पण्डित, शर्मिला शर्मा र सुस्मिता बुढाथोकीको प्रभावशाली अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन सुरज खनालले गरेका हुन्। भिडियोमार्फत मालारानी क्षेत्रको धार्मिक महत्व, सांस्कृतिक जीवनशैली र प्राकृतिक दृश्यलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। सम्पादनको जिम्मेवारी बिनोद बोमले सम्हालेका छन्।
निर्माण पक्षका अनुसार ‘मालारानी’ भजनले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै अर्घाखाँची जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। गीतको भाव, संगीत र दृश्य संयोजनले दर्शक तथा श्रोताको ध्यान तान्ने विश्वास लिइएको छ।
यसअघि ‘सुपा देउराली’ जस्ता भजनमार्फत चर्चा कमाएका गायक मोतिराज खनालका दर्जनौँ सिर्जना बजारमा आइसकेका छन्। ‘मालारानी’ भजनले पनि सार्वजनिक भएको छोटो समयमै राम्रो प्रतिक्रिया पाएको खनालले बताएका छन्। उनका अनुसार भजन दुई दिनभित्रै सयौँ टिकटक र फेसबुक रिल्समा प्रयोग भई सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्न सफल भएको छ।
काठमाडौंमा रहेर पनि जन्मथलो अर्घाखाँचीका धार्मिक स्थल र पर्यटन क्षेत्रको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएका खनालले यस्ता सिर्जनामार्फत स्थानीय पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउँदै आएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend