logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाली चलचित्र संग्रहालयको औपचारिक सुरूआत


  • जन आकाश
  • बुधबार, फाल्गुन १३ २०८२

काठमाडौं । नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली चलचित्र संग्रहालयको औपचारिक सुरूआत गरेको छ।



मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा संग्रहालय उद्घाटन गरिएको हो।

कार्यक्रममा चलचित्रकर्मी तथा विभिन्न संस्थाहरूले विगतका ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजातहरू हस्तान्तरण गरेका थिए। सामाग्री उपलब्ध गराउने व्यक्तित्व तथा संस्थाहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो।

ऐतिहासिक सामाग्री हस्तान्तरण सिने फोकस प्रा.लि.  (रजत बुढाथोकी) ले रेड क्यामेरा हस्तान्तरण गरे। क्लासिक सिने युनिभर्स प्रा.लि. (दिनेश महरा) ले सोनी इएक्स थ्रि क्यामेरा उपलब्ध गराएका छन्। फिल्म सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक १० क्यामेरा, सोनी कलर मोनिटर (२००१), नेशनल पानासोनिक ५४३ क्यासेट टेप, साउण्डरभिडियो उपकरण तथा अडियो मिक्सर उपलब्ध गराएका छन्।

उत्तम थापा, प्रबन्ध निर्देशक, म्यूजिक नेपाल प्रा.लि.ले १५२ वटा नेपाली चलचित्रका पोस्टर तथा आर्टवर्क प्रदान गरेका छन्। रूपेन्द्र खड्गी , ओ.एस.आर प्रा.लि.ले चलचित्र आर्टवर्कहरू उपलब्ध गराएका छन्।

कान्तिपुर रेडियो ले ३४४ वटा चलचित्रका क्यासेट तथा अडियो सिडीहरू हस्तान्तरण गरेका छन्। दर्शनबीर शाक्य, सम्पादक, पेज थ्री पत्रिकाले नेपाल भाषाका ८० चलचित्रका पोस्टर उपलब्ध गराएका छन्।

जनक तामाङ, प्रबन्ध निर्देशक, हाईलाईट्स नेपाल प्रा.लि.ले २०२ नेपाली चलचित्रका आर्टवर्क प्रदान गरेका छन्। सुन्दरलाल श्रेष्ठ, आईडियल डिजाईनर्स ले १४६ नेपाली चलचित्रका पोस्टर उपलब्ध गराएका छन्। चलचित्रकर्मी मन्दिल श्रेष्ठ तथा गौरीशंकर धुँजु (ए वन जन सेन्टर) ले पुरानो ऐतिहासिक क्यामेरा तथा ट्राइपोड प्रदान गरेका छन्।

लेखक तथा चलचित्रकर्मी नरेन्द्रबहादुर श्रेष्ठले प्रथम चलचित्र अवार्डका संग्रहयोग्य कागजात उपलब्ध गराउने भएका छन्। छायाँकार पुरूषोत्तम प्रधानले आफू सम्बद्ध ६३ नेपाली चलचित्रका स्क्रिप्टहरू उपलब्ध गराएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend