जन आकाश
काठमाडौं । नेपालको संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘मिस टुरिजम क्विन वर्ल्ड वाइड’ प्रतियोगिता नामक सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ।
एसएसके मिडिया ले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ २ गते काठमाडौंमा आयोजना हुने जानकारी गराएको हो। पत्रकार सम्मेलनमा आयोजक सन्तोष सिलवाल ले नेपालका विभिन्न भेषभूषा, कला, संस्कृति र भाषालाई सौन्दर्य प्रतियोगितामार्फत प्रस्तुत गर्दै विदेशी पर्यटक भित्राउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए।
उनका अनुसार प्रतियोगितामा सहभागीहरूलाई विभिन्न स्थानमा घुमाइ नेपालको बारेमा जानकारी गराइनेछ। प्रतियोगितामा १६ देखि २९ वर्ष उमेर समूहका युवतीहरू सहभागी हुन पाउनेछन् भने कम्तीमा २५ जना प्रतिस्पर्धी सहभागी गराइने जनाइएको छ। यस प्रकारको प्रतियोगिता नेपालमै पहिलोपटक आयोजना हुन लागेको पनि उनले जानकारी दिए।
सम्मेलनमा दिक्पाल कार्की ले कार्यक्रममार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताए। उनले मौलिक कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे।
आयोजकका अनुसार प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण नेपाललाई यस्ता कार्यक्रममार्फत विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने विश्वास लिइएको छ। प्रतियोगिताले देशको मौलिक पहिचान, परम्परा र संस्कृतिको संरक्षण तथा प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा प्रथम हुने विजेतालाई रु= १ लाख नगदसहित विभिन्न आकर्षक पुरस्कार प्रदान गरिनुका साथै अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर दिइनेछ। यस्तै, फर्स्ट रनरअपलाई रु २५ हजार नगदसहित विभिन्न पुरस्कार तथा पारिवारिक पोखरा भ्रमणको अवसर प्रदान गरिनेछ। साथै, सबै सहभागीहरूलाई आयल्स वा जापानी भाषा कक्षा तथा कम्प्युटर तालिम निःशुल्क उपलब्ध गराइने जनाइएको छ।
कार्यक्रमका मुख्य आकर्षणका रूपमा सुगारिका केसी, दिक्पाल कार्की, आनन्द कार्की तथा विशेष विदेशी अतिथि र्यो साकागुची र उनको फेसन समूहको सहभागिता रहनेछ।
कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति तथा परम्परागत पहिरनमा आधारित विशेष प्रस्तुतिहरू समेत रहनेछन्। आयोजकका अनुसार प्रतियोगितामार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य राखिएको छ।
प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई १५ दिने तालिम प्रदान गरिनेछ। तालिम अवधिमा सहभागीहरूलाई नेपालको विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण, फोटोसुट तथा पर्यटनसम्बन्धी कक्षाहरू सञ्चालन गरिनेछन्।
प्रतिस्पर्धामा सहभागी हुन प्रति प्रतिस्पर्धी पाँच हजार रुपैयाँ बुझाउनुपर्ने जनाइएको छ। यस कार्यक्रमको मेक पार्टनरका रूपमा फेसियल हाउस तथा एजुकेशन पार्टनरका रूपमा मेघाटेक भ्यालु एजुकेशन कन्सल्टेन्सी रहनेछन्। साथै, अन्य प्रायोजकहरू क्रमशः थपिँदै जाने आयोजकले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend