logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रा.सु.फा. को नयाँ वर्ष लक्षित शुभकामना आदानप्रदान विशेष कार्यक्रम सम्पन्न ।


  • जन आकाश
  • सोमबार, चैत्र २३ २०८२

काठमाडौ ।राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालले यही २०८२ चैत्र २१ गते शनिबार आउँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान गर्दै सतहत्तरौँ प्रविधिमैत्री कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्षको शुभकामना लक्षित सुसेली गायन र वाचनको कार्यक्रम, सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका संस्थापकसहित केन्द्रीय अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’ को सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन कवि साहित्यकार एवम् संस्थाकी संस्थापक केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीको स्वागतबाट सुरु गरिएको थियो।



संस्थाका संस्थापक केन्द्रीय महासचिव दामोदर ढकाल ‘दीपक’ ले आगामी २०८३ बैशाख ०२ गते आयोजना गरिने *वार्षिकोत्सव एवम् सुसेली सम्मान कार्यक्रमका* बारेमा प्रष्टसँग जानकारी गराउँदै कार्यक्रमलाई भव्य एवम् सभ्य बनाउन सल्लाह सुझाव भएमा कार्यक्रमको अघिल्लो दिनसम्ममा जानकारी गराउन सबैमा अनुरोध गरी आफ्ना सुसेलीहरू गायनमार्फत शुभकामना व्यक्त गर्नुभयो ।

नयाँ वर्षको शुभकामना विशेष सुसेली गायन र वाचन कार्यक्रममा उपस्थित उत्कृष्ट सुसेली सर्जक कवि साहित्यकारहरूले त्रिपदीय नेपाली लोकलय, पूर्वीय, पश्चिमी, काँठे भाका, भजन र लोकभाका लगायत फरकफरक लयमा आउँदै गरेको नयाँ वर्ष २०८३ को शुभकामना आ-आफ्ना सुसेलीहरू गायन/वाचन गर्दै प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि कलानिधि दाहालले सुसेली लेख्न सरल पनि छ र कठिन पनि छ । अहिले आएर सबैका सुसेली रचनाहरू काव्यात्मक रूपमा बिम्बप्रधान हुँदै आएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले उपस्थित हरेक कविहरूलाई मन्तव्य एवम् आफूले रचना गर्नुभएका नयाँ वर्ष सम्बन्धित शुभकामना सुसेलीहरूमार्फत एकएक गरी नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।

अर्का विशिष्ट अतिथि संस्थाका संरक्षकसहित संस्थापक केन्द्रीय सल्लाहकार कवि, साहित्यकार, भाषाविद्, सम्पादक एवम् समीक्षक चन्द्रा न्यौपानेले सुसेली लगायतका सबै साहित्यमा भाषागत शुद्धता हुनुपर्ने, सुसेलीमा त झनै अक्षर संरचना, अनुप्रास र लयमा समेत विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिँदै सुसेलीले पाइरहेको लोकप्रियतामा धेरै कवि साहित्यकारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुहुँदै मन्तव्य एवम् आफ्ना सुसेलीहरूमार्फत नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।

नयाँ वर्ष २०८३ लक्षित शुभकामना आदानप्रदान विशेष कार्यक्रममा अतिथिका रूपमा सुरेशचन्द्र घिमिरे, घनश्याम पौडेल, लक्ष्मीप्रसाद मिश्र, उत्तम विचार भेटवाल, सुमित्रा श्रेष्ठ, विमला ढकाल समीक्षा, खगेन्द्र बस्याल, द्वारिका कुईँकेल, विमल अर्याल, पवनकुमार बुढाथोकी, जानुका थापा रायमाझी, गङ्गा लिगल, संगीता खरेल लगायत २१ जना कवि साहित्यकारहरूको विशेष उपस्थिति रहेको थियो।

संस्थाका केन्द्रीय अध्यक्ष एवम् कार्यक्रमका सभापति भमरकोटेले आजको यो विशेष दिनमा दुई जना विशिष्ट अतिथि कविहरू कलानिधि दाहाल र चन्द्रा न्यौपानेसहित २१ जना अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्दै सुन्दर शुभकामना सुसेलीहरू सुन्ने र सुनाउने अवसर पाएकामा अत्यन्तै हर्ष लागेको बताउनुभयो । उत्कृष्ट कविहरूको उपस्थितिले कार्यक्रम भव्य एवम् सभ्य हुनुका साथै कविहरूले आफ्ना सुसेलीहरू सहज तवरमा सुनाउने अवसर पाउनु भएको र नयाँ वर्षप्रति समर्पित सुसेली गायन अत्यन्तै मन छुने किसिमका भएको कुरा व्यक्त गर्नुभयो। यसका साथै उत्कृष्ट सुसेलीहरू प्रस्तुत गर्नुहुने सबै कविहरूमा आभार प्रकट गर्नुभयो । सभापति भमरकोटेले कार्यक्रमलाई भव्य एवम् सभ्य तवरमा सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने थप सबैलाई धन्यवादका साथै सुसेली फाउन्डेसनको आठौं वार्षिकोत्सव आगामी बैशाख ०२ गतेका दिन सबैको उपस्थितिको अपेक्षा राख्दै तल लेखिएको एउटा र थप संस्कृतका दुई वटा शुभकामना विशेष सुसेलीहरू गाउँदै कार्यक्रमको समापन गर्नुभयो ।

आयो माझमा
नयाँ वर्ष त्रियासी
‌शुभकामना !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend