जन आकाश
काठमाडौं । कैलालीको गेटामा बनेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा आउने भएको छ । भौतिक संरचना निर्माण भएको लामो समयपछि सरकारले बजेट र कानुनी प्रक्रियालाई अगाडि बढाएसँगै सुदूरपश्चिमवासीमा नयाँ उत्साह देखिएको हो ।
नेपाल सरकारले २०८० माघ २९ गते मन्त्रिपरिषद्बाट यो विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । ५१ हेक्टरमा फैलिएको यो क्षेत्रमा सरकारको ६ अर्बभन्दा बढी लगानी भइसकेको छ भने ४२ वटा भवनहरू तयारी अवस्थामा छन् ।
कैलाली क्षेत्र नं.५ का सांसद डा.आनन्दबहादुर चन्दले अर्को शैक्षिक सत्रदेखि पठनपाठन सुरु हुने विश्वास व्यक्त गरे । ‘विश्वविद्यालयका लागि आवश्यक बजेट तय भइसकेको छ, यसले यस क्षेत्रको शिक्षा र स्वास्थ्यमा ठुलो परिवर्तन ल्याउनेछ,’ उनले भने ।
दुई वर्षदेखि संसद्को समितिमा रोकिएको विधेयकलाई नयाँ सरकारले निकास दिने उनले बताए । सुरुमा ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउने योजना रहेको र प्रधानमन्त्री बालेन्द्र शाहले यसमा विशेष चासो दिएको उनले जानकारी दिए ।
त्यस्तै, सांसद खेमराज कोइरालाले विश्वविद्यालय सञ्चालनका लागि २ अर्ब ५८ करोड रुपैयाँ बजेट सुनिश्चित भएको बताए । प्रधानमन्त्रीले कामलाई गति दिन प्रतिबद्धता जनाएको उनले उल्लेख गरे ।
विश्वविद्यालयका उपकुलपति प्राडा सुनीलकुमार जोशीले आगामी सत्रबाट चार वटा संकायमा पढाइ सुरु गर्ने तयारी भइरहेको बताए । यसका लागि सेती, महाकाली र टीकापुर अस्पताललाई विश्वविद्यालयमा आबद्ध गर्न प्रदेश सरकारले सहमति दिइसकेको छ ।
विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले वर्षौँदेखिको सपना अब पूरा हुने आशा देखाए । यसैबिच, विश्वविद्यालय सभाको बैठक पहिलो पटक गेटाकै परिसरमा आगामी २५ गते बस्ने भएको छ । यसअघि काठमाडौँमा हुँदै आएको बैठक यसपटक आफ्नै स्थानमा बोलाइएको उपकुलपति जोशीले बताए। बैठकमा विश्वविद्यालयका नियमावली र कार्यविधिबारे छलफल हुने तय भएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend