logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विमुन्सको ‘सकस’ र ‘नसुनिने आवाज’ कृति सार्वजनिक


  • जन आकाश
  • आइतबार, चैत्र २९ २०८२

काठमाडौं । नेपाली काव्य क्षेत्रमा दुई दशकदेखि सक्रिय रहँदै आएकी कवयित्री विमुन्स पौडेलका दुई काव्य कृति विमोचन गरिएका छन्। ‘सकस’ र ‘नसुनिने आवाज’ नामक कृति शनिबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।



गहनापोखरीस्थित राधाकृष्ण देवस्थान टङ्गाल मन्दिर प्राङ्गणमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार तथा भाषाविद् मुकुन्दशरण उपाध्यायले दुवै कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए ।

कविता, गजल तथा छन्द लेखनमा सक्रिय पौडेलले नेपाली साहित्यमा आफ्नो पृथक् पहिचान निर्माण गर्दै आएकी छन् । उनका रचनामा छन्दको सौन्दर्यसँगै सामाजिक संवेदनशीलता र मानवीय अनुभूतिको गहिरो अभिव्यक्ति पाइन्छ ।

लोकार्पणपछि कृतिहरूबाट चयनित अंशहरूको वाचन गरिएको थियो । कार्यक्रममा नेपली लेखक संघका केन्द्रिय कोषाध्यक्ष विसुकुमार केसी, पत्रकार बैकुण्ठ भण्डारी र लक्ष्मीप्रसाद पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । विमोचित कृतिहरूमाथि प्राध्यापक पुरुषोत्तम दाहाल, डा. रत्नमणि नेपाल र भुवन सोहोराले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

विमोचित कृतिहरूमध्ये ‘सकस’ मा व्यक्तिगत तथा सामाजिक जीवनका जटिल यथार्थहरूलाई छन्दबद्ध ढङ्गले प्रस्तुत गरिएको छ भने ‘नसुनिने आवाज’ मा ध्वनि भएपनि कानहरू ले सुन्न छाडिएका हुन सक्ने स्वरहरूलाई कवितामार्फत ध्वनि बढाउन प्रयास गरिएको छ ।

कार्यक्रममा देशका विभिन्न क्षेत्रका साहित्यकार, समालोचक, कवि तथा छन्दप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
छन्द कविता आफैं मा शास्त्रीय विधान मा बग्ने हुँदा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मन्दिर परिसरमा वैदिक श्लोकहरू गुञ्जायमान गराउँदै सुरु भएको कार्यक्रममा गुरूकुलका कलाकार अध्याय भण्डारीको तबलावादन पनि समेटिएको थियो । सोही कार्यक्रममा साहित्यकार एन.आर. भट्ट (अनार) को सामाजिक उपन्यास ‘खाम’ पनि एकसाथ लोकार्पण गरिनुका साथै साहित्यकार भूवन वोहोरा द्वारा उपन्यास बारे संक्षिप्त टिप्पणी राखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend