जन आकाश
काठमाडौं ।सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार विभिन्न सरकारी अस्पतालका बहिरङ्ग (ओपीडी) लिन आउने बिरामीको चाप बढेको छ ।
पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको समाधानका लागि सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । राजधानीको विभिन्न सरकारी अस्पतालमा सीमित जनशक्ति र पूर्वाधारका बिच दैनिक हजारौँ बिरामीको उपचार गर्नुपर्दा स्वास्थ्य सेवा प्रभावित हुने अवस्था सिर्जना भएको चिकित्सकहरू बताउँछन् ।
राजधानीको शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायत ठुला सरकारी अस्पतालमा बिहानैदेखि लामो लाइन लाग्ने दृश्य सामान्य बनेको छ। सामान्य जाँचदेखि जटिल रोगको उपचारसम्मका लागि एउटै अस्पतालमा निर्भर रहनुपर्ने बाध्यताले सेवा लिन आउनेहरूको सङ्ख्या बढिरहेको हो।
स्वास्थ्यकर्मीका अनुसार एक जना चिकित्सकले दैनिक १०० देखि १५० जना बिरामी जाँच गर्नुपर्ने अवस्था छ, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै बढी हो । सामान्यतया एक चिकित्सकले गुणस्तरीय सेवा दिन दैनिक ३०–४० बिरामी जाँच गर्नु उपयुक्त मानिन्छ । तर काठमाडौँका सरकारी अस्पतालमा यो अनुपात तीनदेखि चार गुणासम्म बढी देखिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend