जन आकाश
काठमाडौं । नयाँ पुस्तामाझ लोकप्रिय गायक चेतन राईले आफ्नो स्वरमा सजिएको नयाँ म्युजिक भिडियो “‘सम्बन्ध” सार्वजनिक गरेका छन् । भिडियो (OSR Digital) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बेलायत निवासी नेलशन राईको शब्द–रचनामा तयार भएको गीतमा संगीत तथा भिडियो निर्देशन स्वयं चेतन राईकै रहेको छ । पारिवारिक सम्बन्ध र प्रेमको भावलाई केन्द्रमा राखेर निर्माण गरिएको भिडियोमा सानातिना विवाद भए पनि अन्ततः प्रेम नै सम्बन्धको आधार बन्ने सन्देश प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा कमल सिंह, शीला गजुरेल लगायत भारतीय बालकलाकार जान्हवी डागा र सानवी डागाको अभिनय रहेको छ । सहायक छायांकनमा निरज तामाङ, मेकअपमा कविता तोलानी तथा एरेञ्ज, मिक्सिङ र मास्टरिङमा कुशल मोक्तान तामाङ रहेका छन् । भिडियोको छायांकन, कलर, ड्रोन र सम्पादन सूर्य लामाले गरेका हुन् ।
गीत निर्मातामा तथा भिडियोका सह–निर्मातामा भारतीय नागरिक विनय पाण्डे, आशुतोष सिंह र चेतन राई स्वयं रहेका छन् ।
‘सेभेन’, ‘साउण्ड’, ‘स्टेप’ र ‘स्टेज’ जस्ता गीति एल्बम सार्वजनिक गरिसकेका चेतनको ‘सम्बन्ध’ बोलको गीत उनको पाँचौं एल्बम ‘स्पिड’ मा समावेश गरिएको छ । आधुनिक, पप तथा लोकपप विधाका गीतमा सक्रिय उनले हालसम्म सात दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने दुई दर्जनभन्दा बढी म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

उनका तिमी तिमी, एक दुई तीन रमाइलो छ यो दिन, मरेर के लानु छ, कहिले कतै, बाँधन,नाम्चे बजार जापानिज साडी,दर्के झरी, ‘मेरो देश नेपाल,हाँसी देऊ न,दोधार, घुम्दै जाँदा, सालैजू, तिमी धून बन र बाँध न मायाको डोरीले’ लगायतका गीत तथा भिडियो चर्चित र व्यावसायिक रूपमा सफल मानिन्छन् ।
प्रस्तोता समाज नेपालका सदस्य तथा नेपाल संगीत कल्याण कोषका सचिवसमेत रहेका चेतन राई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान, पुरस्कार र अवार्डबाट सम्मानित भइसकेका छन् । देश बिदेशका थुप्रै प्रोग्राम गरिसकेका गायक तथा संगीतकार चेतन राई पछिल्लो समय दर्शकले सर्वाधिक रुचाइएको गायको रुपमा चिनिन्छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend