जन आकाश
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत दर्शकमाझ लोकप्रिय बनेका कमेडी कन्टेन्ट क्रियटर बिनय लामा आफ्नो हास्य शैली र फरक प्रस्तुतीका कारण चर्चामा छन् । रामेछापमा जन्मिएका बिनयले युट्युब, टिकटक र फेसबुकमार्फत सार्वजनिक गर्ने कमेडी भिडियोले हजारौं दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको छ ।
सामान्य परिवारमा हुर्किएका बिनयले सुरुआती दिनदेखि नै हास्य अभिनयमा रुचि राख्थे । गाउँघरको परिवेश, दैनिक जीवनका घटनाक्रम तथा समाजमा भइरहेका गतिविधिलाई हास्य शैलीमा प्रस्तुत गर्दै उनले छोटो समयमा नै दर्शकको मन जित्न सफल भएका हुन् । उनका भिडियोमा कहिले रमाइला र उतपट्याङ दृश्य देख्न पाइन्छ भने कहिले सामाजिक सन्देशसमेत समेटिएको हुन्छ । यही कारण धेरै दर्शकले उनलाई “सबैलाई हसाउने भाइरल बिनय लामा भनेर चिन्ने गरेका छन् ।
बिगत लामो समयदेखि सामाजिक सञ्जाललाई नै आफ्नो मुख्य पेशा बनाएका बिनय अहिले युवापुस्तामाझ चर्चित नाम बनिसकेका छन् । उनका भिडियोमा प्रस्तुत गरिने हास्य अभिनय, गाउँले शैलीको संवाद तथा जीवनका यथार्थ पक्षले दर्शकलाई आकर्षित गर्ने गरेको छ । धेरैले उनको भिडियो हेरेर मनोरञ्जन लिनुका साथै दैनिक तनावबाट केही समय राहत महसुस गर्ने बताएका छन् ।
तर दर्शकलाई निरन्तर हसाइरहेका बिनयको व्यक्तिगत जीवन भने सहज छैन । हाँसोभित्र लुकेको उनको पीडा पछिल्लो समय सामाजिक सञ्जालमै सार्वजनिक भएपछि धेरै दर्शक भावुक बनेका थिए । केही समयअघि प्रेम सम्बन्धमा रहेका बिनयले आफूलाई प्रेमिकाबाट धोका भएको जन आकाश मिडियाले तयार पारेको संगीत खबर कार्यक्रममा बताएका थिए ।
उनले आफ्नी प्रेमिकाले नगद १० लाख रुपैयाँ, एउटा आइफोन मोबाइल, कपडालगायत सामान लिएर सम्पर्कविहीन भएको बताएका थिए । मलिन अनुहारमा भिडियोमार्फत आफ्नो पीडा सुनाउँदै लामाले केही समय आफू मानसिक रूपमा निकै तनावमा परेको बताएका थिए ।
दर्शकलाई सधैं हसाउने कलाकार आफैं भने भित्रभित्रै पीडामा रहेको देखिएपछि सामाजिक सञ्जालमा उनको पक्षमा धेरैले सहानुभूति व्यक्त गरेका थिए । कतिपयले उनलाई धैर्य भएर अघि बढ्न सुझाव दिएका थिए भने धेरैले उनको संघर्षपूर्ण यात्राको प्रशंसा गरेका थिए ।
कमेडी भिडियो निर्माणलाई नै आफ्नो भविष्य बनाउने लक्ष्य राखेका बिनय अहिले पनि निरन्तर नयाँ–नयाँ कन्टेन्ट निर्माणमा सक्रिय छन् । व्यक्तिगत पीडा र उतारचढावका बाबजुद दर्शकलाई हसाउने प्रयासलाई निरन्तरता दिइरहेका उनी सामाजिक सञ्जालका चर्चित युवा क्रियटरमध्ये एक मानिन्छन् ।
सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै बिनयजस्ता धेरै युवाले डिजिटल प्लेटफर्मलाई पेशाका रूपमा अपनाइरहेका छन् । त्यही भीडमा फरक शैली, गाउँलेपन र यथार्थ जीवनका कथालाई हास्य रूपमा प्रस्तुत गर्दै बिनय लामाले आफ्नै छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend