जन आकाश
काठमाडौं । चर्चित बाल र्यापर मन्जरी तामाङले आफ्नै जीवनका भोगाइ र संघर्षलाई समेटेर तयार गरिएको नयाँ र्याप गीत ‘कथा’ सार्वजनिक गरेकी छन्। उक्त गीत (Manjali Tamang – Lady Rapper) युट्युब च्यानल ‘मन्जरी अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो।
सानै उमेरदेखि गीत–संगीतप्रति विशेष रुचि राख्दै आएकी मन्जरी तामाङ नेपाली सांगीतिक क्षेत्रमा ‘लेडी बाल र्यापर’ का रूपमा परिचित छिन्। सामाजिक सन्देश बोकेका दर्जनौं र्याप गीतमार्फत चर्चा कमाएकी उनले यसपटक आफ्नै जीवनका अनुभवलाई शब्दमा उतारेर ‘कथा’ शीर्षकको र्याप गीत दर्शकमाझ ल्याएकी हुन्।
गीत सार्वजनिक भएको केही दिनमै सामाजिक सञ्जालमा व्यापक चर्चा पाउन थालेको छ। गीतमा मन्जरीले आफ्नै शब्द लेख्नुका साथै अभिनयसमेत गरेकी छन्। दर्शक तथा श्रोताले गीतको विषयवस्तु र प्रस्तुतिको प्रशंसा गरिरहेका छन्।
विभिन्न शैलीका गीतमा स्वर दिइसकेकी मन्जरीको मुख्य पहिचान भने र्याप संगीत नै बनेको छ। र्याप विधामार्फत उनले आफूलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्दै ‘लेडी र्यापर मन्जरी तामाङ’का रूपमा चिनाउन सफल भएकी छन्।
आमा–बुवाको निरन्तर साथ र सहयोग पाएकी मन्जरीले सानै उमेरमै दर्जनौं गीतमा स्वर दिइसकेकी छन्। उनका ‘गरिबलाई कानुन’, ‘चर्चा छ चर्चा’, ‘भ्रष्ट नेता’ लगायतका गीतहरू विशेष चर्चामा रहेका छन्।
सांगीतिक यात्रामा उल्लेखनीय योगदान पुर्याउँदै आएकी मन्जरी तामाङले विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गरिसकेकी छन्। नयाँ र्याप गीत ‘कथा’ ले पनि उनको सांगीतिक यात्रामा थप सफलता दिलाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend