logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नाईमा एक्सपोको लागि सवै स्टल बुकिङ


  • जन आकाश
  • मंगलबार, असार २ २०८३

 



काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ । नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको उक्त एक्सपो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

नाइमाका अनुसार एक्सपोमा सहभागी चारपांग्रे, दुईपांग्रे तथा कमर्सियल सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत कुल ४९ वटा स्टल बाँडफाँड गरिएको हो । जसमध्ये २६ वटा स्टल चारपांग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुईपांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको छ ।

स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्सपोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको बताइन् । उनले एक्सपोलाई केवल प्रदर्शनीमा सीमित नराखी आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य रहेको उल्लेख गरिन् ।

उनले प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै निर्धारित समयसीमा समाप्त भएपछि पनि केही कम्पनीहरूबाट सहभागिताका लागि अनुरोध आइरहेको र उपलब्ध स्थान तथा सम्भावनाका आधारमा ती अनुरोधहरू सम्बोधन गर्ने प्रयास गरिने बताइन् ।

नाइमा नेपाल मोबिलिटी एक्सपो योजना समितिका अध्यक्ष गौरव शारडाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँड सम्पन्न हुनु उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको प्रतिविम्ब भएको बताए । उनले एक्सपोले अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्ण रूपमा पारदर्शी र निष्पक्ष ढंगले सम्पन्न गरिएको बताए । उनका अनुसार प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागितासहित एक्सपोको तयारी उच्च मापदण्डअनुसार अघि बढिरहेको छ ।

एक्सपोमा चारपांग्रे, दुईपांग्रे तथा कमर्सियल सवारी साधनका विभिन्न अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा नवीनतम सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका प्रवृत्तिहरू प्रदर्शन गरिनेछन् ।

साथै, नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा ज्ञानमूलक सत्रहरू पनि समावेश हुनेछन् । यसले उपभोक्ता, व्यवसायी तथा उद्योगका सरोकारवालाहरूलाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको भविष्य बुझ्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend