जन आकाश
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् ।
सनवे कलेजद्वारा आयोजित ईनोभेसन फेस्ट २०२६ को उद्घाटन समारोहमा बिशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, बिग डाटा, इन्टरनेट अफ थिङ्स, ब्लकचेन, क्वान्टम कम्प्युटिङ तथा जैविक प्रविधिले विश्व अर्थतन्त्र र उद्योगको स्वरूप परिवर्तन गरिरहेको बताए ।
उनले प्राकृतिक स्रोत वा सस्तो श्रमशक्तिभन्दा ज्ञान, अनुसन्धान, नवप्रवर्तन र प्रविधि नै राष्ट्रको प्रतिस्पर्धात्मक क्षमताको प्रमुख आधार बनेको उल्लेख गर्दै नेपालले पनि युवा जनशक्ति, सिर्जनशीलता र डिजिटल पहुँचलाई उत्पादनशील अर्थतन्त्रसँग जोड्न सके दक्षिण एशियाकै महत्वपूर्ण नवप्रवर्तन केन्द्र बन्न सक्ने धारणा व्यक्त गरे ।
अध्यक्ष अग्रवालले फेस्टले कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन र भविष्यका सीप विकासलाई एकै मञ्चमा ल्याएको उल्लेख गर्दै यी क्षेत्रहरू नै भविष्यको रोजगारी, उद्योग, उत्पादन र आर्थिक विकासका आधारस्तम्भ रहेको बताए ।
उनले कृत्रिम बुद्धिमत्ताले शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, बीमा, पर्यटन, सार्वजनिक सेवा, उत्पादन तथा व्यापारका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरिरहेको उल्लेख गर्दै यसको प्रयोग पारदर्शिता, गोपनीयता, नैतिकता र मानव हितलाई केन्द्रमा राखेर गर्नुपर्नेमा जोड दिए। प्रविधिले मानवलाई विस्थापित गर्ने नभई अझ सक्षम बनाउने उद्देश्यका साथ विकास हुनुपर्ने तर्फ उनले जोड दिए ।
रोबोटिक्सले औद्योगिक उत्पादन, स्वास्थ्य सेवा, स्वचालन, जोखिमपूर्ण कार्य तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उनले नेपालको भौगोलिक अवस्थाअनुसार कृषि, वन संरक्षण, भू–नक्साङ्कन, पूर्वाधार निरीक्षण, विपद् उद्धार, औषधि ढुवानी तथा पर्यटन प्रवद्र्धनमा ड्रोन प्रविधिको व्यापक उपयोग गर्न सकिने बताए ।
अध्यक्ष अग्रवालले अनुसन्धानबिना नवप्रवर्तन सम्भव नहुने उल्लेख गर्दै विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । अनुसन्धानलाई प्रयोगशालामा सीमित नराखी उद्योग, बजार र समाजसँग जोड्नुपर्ने आवश्यकता उनले औंल्याए ।
उनले स्टार्टअप, इनक्युबेसन सेन्टर, एक्सेलेरेटर, भेन्चर क्यापिटल तथा बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी संरक्षणमार्फत नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताए । युवाहरूलाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने उद्यमशील सोचका साथ अघि बढ्न आग्रह गर्दै भविष्यमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता, डिजिटल सीप, नेतृत्व र निरन्तर सिकाइ नै सफलताको आधार हुने उनको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्स प्रविधिमैत्री अर्थतन्त्र निर्माण, डिजिटल रूपान्तरण, स्टार्टअप प्रवद्र्धन, उद्योग शैक्षिक सहकार्य तथा अनुसन्धानमा आधारित उद्यम विकासका लागि निरन्तर प्रतिबद्ध रहेको अध्यक्ष अग्रवालले बताए ।
सम्बोधनको अन्त्यमा अध्यक्ष अग्रवालले फेस्टलाई केवल प्रदर्शनी नभई नेपालको भविष्य निर्माण गर्ने साझा मञ्चको रूपमा व्याख्या गर्दै अनुसन्धान, नवप्रवर्तन र प्रविधिमा आधारित विकासमार्फत समृद्ध नेपाल निर्माण गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको औंल्याए ।
सो अवसरमा उनले सरकारसमक्ष राष्ट्रिय एआई नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, अनुसन्धान तथा विकासमा लगानी वृद्धि गर्ने, विश्वविद्यालय उद्योग सहकार्यलाई संस्थागत गर्ने, स्टार्टअपलाई कर तथा वित्तीय प्रोत्साहन उपलब्ध गराउने, डिजिटल पूर्वाधार, साइबर सुरक्षा र डाटा संरक्षण सुदृढ बनाउने, एआई, रोबोटिक्स, सेमिकन्डक्टर डिजाइन, डाटा साइन्स, साइबर सुरक्षा तथा हरित प्रविधिमा दक्ष जनशक्ति विकास गर्ने, महिला तथा सीमान्तकृत समुदायको प्रविधिमा पहुँच विस्तार गर्ने र बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी संरक्षण सुनिश्चित गर्न सरकारसँग आग्रह गरे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend