जन आकाश
काठमाडौं । जिनियस डिजिटल म्युजिक प्रा.लि. तथा जिनियस डान्स एण्ड म्युजिक स्कुलको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बाल प्रतिभा प्रतियोगिता ‘Kids Genius Star of Nepal’ अन्तर्गतको Workshop Round उत्साहजनक सहभागिता, गरिमामय उपस्थिती र प्रतियोगीहरूको उल्लेखनीय सक्रियताबीच सफलतापूर्वक सम्पन्न भएको छ।
देशभरका विभिन्न जिल्लाबाट छनोट भई आएका बाल प्रतिभाहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यशालाको उद्देश्य प्रतियोगीहरूको गायन तथा नृत्यसम्बन्धी क्षमता अभिवृद्धि गर्नुका साथै आगामी प्रतिस्पर्धाका लागि आवश्यक व्यावहारिक ज्ञान, सीप र आत्मविश्वास विकास गराउनु रहेको आयोजकले जनाएको छ। कार्यशालामा सहभागी बाल प्रतिभाहरूले अनुभवी प्रशिक्षक तथा कलाकारहरूबाट प्रत्यक्ष प्रशिक्षण प्राप्त गर्दै आफ्नो प्रस्तुति अझ प्रभावकारी बनाउने अवसर पाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम के.सी. रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व जिनियस डान्स एण्ड म्युजिक स्कुलका अध्यक्ष टेक लामा छिरिङ ले गर्नुभएको थियो। कार्यक्रम संयोजकका रूपमा नृत्य निर्देशक तथा मोडल कृष्ण रसाल र सह–संयोजकका रूपमा नृत्य निर्देशक अनिल महर्जन रहनुभएको थियो। कार्यक्रमको सञ्चालन गायक तथा संगीतकर्मी रमेश पाठक ले गर्नुभएको थियो।
कार्यक्रममा नृत्य निर्देशक यम गुरुङ, केशव कोइराला, दीपकलाल जोशी, बुद्ध लामा, नारायण रिजाल, अनिल पुतुवार, पिङ्की खड्का, निरु फुयाल, संगीता श्रेष्ठ, भावना राई, नवराज रिजाल, सन्तोष कुमाल, रूपा क्षेत्री, भीम लामा तथा साजन भण्डारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी कलाकार रवि कार्की, स्वस्तिका लामिछाने, शिला गजुरेल, मालती कार्की, निर्देशक राम गौतम, रामशरण कोइराला, क्यामेराम्यान दीपेन बस्नेत, गायक तथा संगीतकार चेतन राई, समाजसेवी तथा व्यवसायी शिव कोइराला, राजु अधिकारी लगायत कला, संस्कृति, सञ्चार तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको पनि कार्यक्रममा गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा कलाकार सिद्धार्थ श्रेष्ठ र भीम लामा ले प्रस्तुत गरेको आकर्षक नृत्यले सहभागी तथा उपस्थित दर्शकहरूको मन जितेको थियो। उनीहरूको ऊर्जावान प्रस्तुति कार्यशालाको प्रमुख आकर्षण बनेको आयोजकले जनाएको छ।

कार्यशालामा चर्चित नृत्य निर्देशक यम गुरुङ ले प्रतियोगीहरूलाई नृत्यका आधारभूत तथा उन्नत पक्षहरूबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले स्टेज प्रस्तुति, अभिव्यक्ति कला, तालमेल, शारीरिक लचकता, प्रस्तुति शैली, दर्शकसँगको सम्पर्क, आत्मविश्वास अभिवृद्धि तथा प्रतिस्पर्धात्मक प्रस्तुतिलाई प्रभावकारी बनाउने विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले प्रतियोगीहरूलाई निरन्तर अभ्यास, अनुशासन र सिर्जनात्मक सोचका माध्यमबाट उत्कृष्ट कलाकार बन्न सकिने प्रेरणा पनि दिनुभएको थियो।
त्यसैगरी गायन विधाका प्रतियोगीहरूलाई गायक तथा संगीतकार रमेश पाठक र चेतन राई ले स्वर साधना, श्वास नियन्त्रण, लय–तालको प्रयोग, गीत छनोट, उच्चारण, स्टेजमा प्रस्तुति दिने शैली तथा प्रतिस्पर्धात्मक वातावरणमा आत्मविश्वासका साथ प्रस्तुत हुने सीपबारे विस्तृत प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षकहरूले संगीत क्षेत्रमा सफल हुन नियमित अभ्यास, मिहिनेत र समर्पणको विकल्प नभएको उल्लेख गर्दै प्रतियोगीहरूलाई प्रेरित गर्नुभएको थियो।
कार्यशालामा सहभागी अधिकांश प्रतियोगीहरूले आफूहरूले प्राप्त गरेको प्रशिक्षण आगामी प्रतिस्पर्धाका लागि अत्यन्त उपयोगी भएको बताएका थिए। उनीहरूले अनुभवी प्रशिक्षकहरूसँग प्रत्यक्ष सिक्ने अवसरले आफ्नो प्रस्तुति सुधार्न उल्लेखनीय सहयोग पुगेको प्रतिक्रिया दिएका थिए। प्रतियोगीका अभिभावकहरूले पनि यस्ता कार्यशालाले बालबालिकाको प्रतिभा विकासका साथै उनीहरूमा आत्मविश्वास, अनुशासन र सिर्जनशीलता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए।
आयोजकका अनुसार कार्यशालाबाट प्राप्त प्रशिक्षणका आधारमा प्रतियोगीहरूले आगामी Mega Round मा अझ परिष्कृत र उत्कृष्ट प्रस्तुति दिने अपेक्षा गरिएको छ। प्रतियोगितामार्फत देशभरका प्रतिभावान बालबालिकालाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने उद्देश्य रहेको आयोजकको भनाइ छ।
आयोजकले दिएको जानकारीअनुसार ‘Kids Genius Star of Nepal’ को बहुप्रतीक्षित Mega Round यही साउन २३ गते शनिबार बिहान ११:०० बजेदेखि काठमाडौंको सितापाइलास्थित निर्भाना एकेडेमीमा आयोजना हुनेछ। उक्त चरणमा देशभरबाट छनोट भएका उत्कृष्ट बाल प्रतिभाहरूले गायन तथा नृत्य विधामा आफ्नो उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्नेछन्।
मेगा राउन्डमा राष्ट्रियस्तरका चर्चित कलाकार, वरिष्ठ निर्णायक, सञ्चारकर्मी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा कला–संस्कृतिप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहने आयोजकले जनाएको छ। प्रतियोगिताको आगामी चरणलाई अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी अन्तिम चरणमा पुगेको समेत आयोजकले जानकारी दिएको छ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend