logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

विश्वका शीर्ष १० कार निर्माताको सूचीमा बिवाडी सहित तीन चिनियाँ कम्पनी सुचीमा


  • जन आकाश
  • बिहिबार, साउन २१ २०८३

काठमाडौं। सन् २०२६ को पहिलो छ महिनामा विश्वका शीर्ष १० ठूला कार निर्माता कम्पनीहरूको सूचीमा बिवाडी सहित तीनवटा चिनियाँ कम्पनीहरू पर्न सफल भएका छन् ।



चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार बीवाईडी, जिली र चेरीले विश्वव्यापी बजार हिस्सा बढाउँदै शीर्ष १० भित्र आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

यस सूचीमा चिनियाँ विद्युतीय कार निर्माता बीवाईडी ४.८ प्रतिशत बजार हिस्सासहित छैटौं स्थानमा रहेको छ । सन् २०१६ मा केवल ०.६ प्रतिशत मात्र बजार हिस्सा ओगटेको बीवाईडीले १० वर्षको अवधिमा उल्लेख्य प्रगति गरेको छ ।

त्यस्तै, जिली होल्डिङ ग्रुप ४.६ प्रतिशत बजार हिस्साका साथ विश्वका शीर्ष कार निर्माताको सूचीमा सातौं स्थानमा उक्लिएको छ । सन् २०१६ मा १.५ प्रतिशत बजार हिस्सा रहेको जिली समूहअन्तर्गत भोल्भो, स्मार्ट, पोलस्टार, लोटस र प्रोटोन जस्ता चर्चित ब्रान्डहरू समावेश छन् ।

अर्को चिनियाँ कम्पनी चेरी ४.१ प्रतिशत बजार हिस्सा हासिल गर्दै अमेरिकी अटो निर्माता फोर्डसँगै संयुक्त रूपमा नवौं स्थानमा पर्न सफल भएको छ ।

मुख्य रूपमा सवारी साधन निर्यातमा अग्रणी मानिने चेरीको १० वर्षअघि ०.८ प्रतिशत मात्र बजार हिस्सा रहेको थियो ।

विश्वव्यापी बजार हिस्साको दृष्टिकोणले सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिमा जापानी अटो निर्माता टोयोटा ११ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा कायमै रहेको छ । जर्मनीको फक्सवागन ८.१ प्रतिशत बजार हिस्सासहित दोस्रो तथा दक्षिण कोरियाको किया–हुन्डाई ७.६ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा रहेका छन् ।

अन्य चिनियाँ कम्पनीहरूमध्ये एसएआईसी ३.७ प्रतिशत बजार हिस्सासहित ११ औं स्थानमा छ भने चांगन, जीडब्ल्यूएम, बीएआईसी र डोङफेङ पनि विश्वका शीर्ष २५ अटो निर्माताभित्र पर्न सफल भएका छन् ।

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend