जन आकाश
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा हालसम्म सरकारको मातहतमा कुनै पनि सरकारी आँखा अस्पताल नरहेको बताएकी छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले कोसी अस्पतालबाट सरकारी आँखा अस्पताल स्थापना गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।
मन्त्री मेहताले कोसी अस्पतालको अतिक्रमित जग्गा सरकारको मातहतमा ल्याइसकिएको र आँखा अस्पताल निर्माणका लागि आवश्यक प्रस्ताव तयार पार्ने काम भइरहेको बताइन्। उनका अनुसार विराटनगरलाई स्वास्थ्य सेवाको प्रमुख केन्द्र (हब) का रूपमा विकास गर्ने सरकारको लक्ष्य छ। साथै, छात्रवृत्तिमा अध्ययन गरेका नेत्ररोग विशेषज्ञसहित चिकित्सकलाई सरकारी अस्पतालमै सेवा दिने व्यवस्था मिलाइने उनले जानकारी दिइन्।
‘यहाँ आएपछि मात्रै थाहा पाएँ कि सरकारको आफ्नै आँखा अस्पताल नै रहेनछ। त्यसैले कोसी अस्पतालबाट सरकारी आँखा अस्पताल स्थापना गर्ने कामलाई प्राथमिकतामा राखेका छौं। हाम्रो आफ्नै आँखा अस्पताल हुनुपर्छ,’ मन्त्री मेहताले भनिन्।
उनले स्वास्थ्य क्षेत्रलाई मेडिकल टुरिजमसँग जोड्ने सरकारको योजना पनि सार्वजनिक गरिन्। नरदेवी अस्पताल, कीर्तिपुर अस्पताल तथा बुढानीलकण्ठमा निर्माणाधीन पञ्चकर्म केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको मेडिकल टुरिजम गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।
मन्त्री मेहताले बढ्दो मानसिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै नरदेवी र कीर्तिपुर अस्पतालमा वेलनेस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिँदै विदेशमा महँगो शुल्क तिरेर लिनुपर्ने यस्ता सेवा नेपालमै ३ सयदेखि ५ सय रुपैयाँसम्मको न्यून शुल्कमा उपलब्ध रहेको र यसको प्रवर्द्धन गर्न आवश्यक रहेकोमा जोड दिइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend