जन आकाश
-जयराम बिडारी
काठमाडौँ,
हरेक महिनाको चौँथो शनिवार सञ्चालन गरिने लोमश वाङ्मय प्रतिष्ठानको नियमित मासिक कार्यक्रम रचना वाचन तथा कृति परिचर्चा गरी सम्पन्न गरिएको छ । तारकेश्वर, डाँडागाउँस्थित हिम रश्मि हाई स्कुलमा सम्पन्न गरिएको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को अध्यक्षता तथा वरिष्ठ प्रगतिवादी साहित्यकार डा. जगदीशचन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो । सो अवसरमा मातृका पोखरेलकृत कथासङ्ग्रह ‘मलाई पनि निद्रा लागेन’ परिचर्चा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. जगदीशचन्द्र भण्डारीले मन्तव्यका क्रममा कृतिकार मातृका पोखरेलसँग आफ्नो करिव चार दशक देखिको रचनात्मक सम्बन्ध रहेको उल्लेख गरे । उनले मातृका पोखरेलका कथा समकालीन समाजको सजीव चित्र भएको बताए । डा. भण्डारीले समाजमा विद्यमान हरेक घटना, परिघटनाबारे द्वन्दात्मक कोणबाट विश्लेषण गर्दै साहित्यले समाजमा सकारात्मक सामाजिक चेतना जगाउने कर्ममा खरो रुपमा उत्रिएको समेत बताउँदै उनकाा आगमी लेखनकर्म अझै सक्रिय रुपमा अघि बढ्ने कुरामा जोड दिँदै पोखरेलका कथाहरुले सोही भावलाई अभिव्यक्त गरोको बताए ।
उक्त अवसरमा परिचर्चाकार तथा मूर्धन्य साहित्यकार महेश प्रसाईँले विसंगत विचार र समाजको यथार्थलाई मातृकाले आफ्ना सिर्जनामा स्पष्ट रूपमा प्रस्तुत गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । उनले विभिन्न वरिष्ठ साहित्यकारहरूसँग पोखरेलको तुलना गर्दै उनको अब्बल लेखनकलाले समाजमा व्याप्त कुरीतिमाथि तिखो प्रहार गर्न सक्षम रहेको बताए । साथै, उनले समग्र रूपमा सबैजसो कथाहरूको साङ्गोपाङ्ग परिचर्चा समेत गरे ।
यसैगरी लघुकथामा विशिष्ट पहिचान बनाएका खेमराज पोखरेलले मातृकालाई अत्यन्त समसामयिक विषयमा मन छुनेगरी कथा लेख्न सक्ने कथाकारका रूपमा चित्रित गरे । उमेरमा भाइ पुस्ताको भए पनि कथाकारितामा मातृका आफ्ना ठुल्दाइ भएको उनको भनाइ थियो ।
त्यसैगरी आफ्नो रचना-गर्भबारे मातृका पोखरेलले कथाका सबै कच्चा पदार्थ आफ्नै गाउँ समाज र भूगोल रहेको भन्दै सूक्ष्म कुराले पनि आफ्नो मन बिथोल्ने र तिनलाई यथासम्भव आख्यानीकरण गरिहाल्ने आफ्नो स्वभाव भएको बताए । पोखरेलले महेश प्रसाईंले उठान गरेको विषय नै आफूले पर्गेलेको भन्दै कथा लेखन हाम्रै वरिपरिका विसङ्गत विषय र समसामयिक परिघटनालाई यथासम्भव उठान गर्नुपर्ने कथाकारको दायित्व हुने बताए ।
साहित्यकार कृष्णहरि भट्टले दर्शन र साहित्यको अन्योन्याश्रित सम्बन्धको सङ्क्षिप्तमा परिचर्चा गर्दै मातृकाका कथाले समाज र आफूलाई आदर्श ठान्ने तर यथास्थितिलाई सकार्नेहरूको चरित्र बदल्न सहजीकरण गर्न सक्ने बताउँदै कविता वाचन समेत गरेका थिए ।
कार्यक्रममा हिम रश्मि हाई स्कुलका इन्चार्ज महाप्रसाद अम्गाईंले आफ्नो विद्यालय साहित्यिक गतिविधि सञ्चालन गर्ने अत्यन्त कम संस्थाहरूमध्ये एक रहेको बताउँदै आफूहरूले कला,साहित्य र संस्कृतिको उन्नयन पनि शिक्षा दिनु सरह ठान्दै आएको बताए । आगामी एक वर्ष मात्र नभई त्यसपछि पनि आफूहरू यस्ता कार्यक्रमलाई नियमितता दिन दत्तचित्त रहेको अम्गाईको भनाई थियो ।
लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले आफ्नो संस्थाले साहित्य उन्नयन र ओझेलमा परेका स्रष्टालाई प्रकाशित गर्ने काम निरन्तर गरिरहने भन्दै कार्यक्रम व्यवस्थापनको जिम्मा लिने हिम रश्मि हाई स्कुलप्रति संस्था कृतज्ञ भएको बताए ।प्रतिष्ठानलाई नव सर्जक लगायत तमाम सर्जकहरूको साझा मञ्चका रूपमा विकास गर्दै लैजाने आफूहरूको उद्देश्य रहेको बताए ।
उक्त अवसरमा श्याम कृष्ण डङ्गोल, रूबि सत्याल, पौडेल बिमुन्स, भीम क्षेत्री समाश्री, दिलकुमारी डङ्गोल, कमला घिमिरे, गङ्गा खतिवडा, पुरुषोत्तम रसुवालगायत दुई दर्जन बढी स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गरे भने अनुप खनालले सुरिलो स्वरमा गीत प्रस्तुत गरे । त्यसरी नै स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवाल, प्रविधि-मैत्री शैक्षिक अभियन्ता विश्वराज अर्यालले समकालीन साहित्यबारे सङ्क्षिप्तमा प्रकाश पारे । कवि एन्जल निलु, बालसाहित्यकार केशरी अम्गाई, अग्निचक्र मासिकका सम्पादक लक्ष्मीप्रसाद भट्टराईको विशेष उपस्थिति रहेको सो कार्यक्रममा समुपस्थित स्रष्टाहरूलाई गङ्गा खतिवडाले धन्यवाद ज्ञापन गरिन् भने मुक्तककार तथा सञ्चारकर्मी जयराम बिडारीले सहजीकरण गरे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend