जन आकाश
काठमाडौं । देशभरका प्रमुख नदीहरूमा पानीको बहाव अहिले सतर्कता तहभन्दा तल रहेको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा बाढीको हालको अवस्था सामान्य छ।
यसैगरी यी नदीका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीको बहाव पनि सतर्कता तह पार गरेको छैन। हाल अवस्था सामान्य रहे तापनि आगामी तीन दिनसम्म देशका अधिकांश नदीमा पानीको सतह बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ।
महाशाखाको तीन दिने पूर्वानुमानअनुसार आज विशेषगरी नारायणी, कर्णाली र महाकाली बेसिनका नदीहरूमा बहाव बढ्नेछ। महाशाखाले जारी गरेको सूचनामा ‘नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा’ आज पानीको सतह उल्लेख्य बढ्ने जनाइएको छ।
यसैगरी कर्णाली, भेरी, पश्चिम सेती र महाकाली नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ। कोशी बेसिनका सप्तकोशी, तमोर, अरुण, सुनकोशी र दुधकोशीमा भने आज पानीको सतह सामान्य मात्र बढ्नेछ। भोलि ३० गते र पर्सि ३१ गते देशैभरका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने महाशाखाको प्रक्षेपण छ।
ठुला नदीको तुलनामा साना नदीमा आज बाढीको जोखिम बढी देखिएको छ। आज देशका दर्जनौँ जिल्ला भई बग्ने स९साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरसहित बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवनमा बग्ने खहरे खोलाहरूमा बाढीको सम्भावना छ।
यसबाहेक पूर्वमा ताप्लेजुङदेखि पश्चिममा कञ्चनपुरसम्मका पहाडी र तराईका थुप्रै जिल्लाहरूमा ‘स९साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको’ मध्यम जोखिम रहेको भनी महाशाखाले सचेत गराएको छ।

साना नदीहरूमा बाढीको यो जोखिम आगामी दुई दिनसम्म कायमै रहनेछ। महाशाखाका अनुसार भोलि र पर्सि विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बग्ने केही स९साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ। तसर्थ, नदी तटीय क्षेत्र र खहरे खोला आसपासका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend