जन आकाश
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार बराललाई उपकुलपति नियुक्त गरेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल नेतृत्वको छनोट समितिले बरालसहित प्रा.डा. बालचन्द्र लुइटेल र प्रा.डा. राजेन्द्र जोशीको नाम सिफारिस गरेको थियो।
केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक बरालले विश्वविद्यालयमा २७ वर्षभन्दा बढी अध्यापन गरेका छन्। उनले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्यूजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन्। उनी केयू प्राध्यापक संघका पूर्वसभापति पनि हुन्।
बरालले ऊर्जा खपत, इन्डोर थर्मल कम्फर्ट, ब्याट्री कुलिङ तथा विद्युतीय सवारीसाधनको थर्मल म्यानेजमेन्टलगायत क्षेत्रमा अनुसन्धान गरेका छन्।
यसअघि विश्वविद्यालय र धुलिखेल अस्पतालका निर्माणसम्बन्धी काममा बेरुजु रकम फर्छ्यौट नगरेको आरोप बरालमाथि लागेको थियो। उक्त आरोपबारे छानबिन भइरहेका कारण उनको नियुक्तिमा केही ढिलाइ भएको शिक्षा मन्त्रालयले जनाएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend