जन आकाश
फाबुलामा बुद्ध प्रतिमा अनावरण: ध्यान, शान्ति र आध्यात्मिक चेतनाको केन्द्र बन्दै
-जयराम बिडारी
काठमाडौँ, साउन ३०
चन्द्रागिरी नगरपालिका–८ स्थित फाबुला पार्कमा भगवान् बुद्धको तीन फिट अग्लो प्रतिमा भव्यताका साथ अनावरण गरिएको छ । समाजसेवी, बौद्ध अध्येता एवं समानान्तर बौद्ध आध्यात्मिक पत्रिका ‘सम्यक् सन्देश’का सल्लाहकार श्यामलाल चित्रकारद्वारा निर्मित उक्त प्रतिमा भिक्षुसङ्घ नेपालको गरिमामय उपस्थितिमा धार्मिक विधिपूर्वक अनावरण गरी समुदायमा समर्पण गरिएको हो ।
स्थानीयस्तरमा भगवान् बुद्धका ज्ञान, करुणा र सहिष्णुताका शिक्षाहरूको प्रचार-प्रसार गर्ने उद्देश्यले आयोजित उक्त समारोहमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ,वडा नं. ८ का वडाध्यक्ष प्रह्लाद रिजाललगायत वडा सदस्यहरूका साथै स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विहारका आवासीय भिक्षु–भिक्षुणी, उपासक–उपासिका तथा बौद्ध धर्मावलम्बीहरूको समेत उल्लेख्य सहभागिता थियो ।
सामूहिक बुद्धपूजाबाट प्रारम्भ भएको कार्यक्रममा भिक्षु प्रियदर्शीले बुद्ध प्रतिमाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । उहाँले प्रतिमा पूजाको शास्त्रोक्त विधि स्पष्ट पार्दै अशान्त मनलाई संयमित बनाउन पार्कको शान्त वातावरणमा ध्यान-भावना गर्न आग्रह गर्नुभयो। सो अवसरमा उहाँले उपस्थित उपासक-उपासिकाहरूलाई श्वास-प्रश्वासमा आधारित व्यावहारिक ध्यान विधिसमेत सिकाउनुभएको थियो ।
भिक्षु प्रियदर्शीले भगवान् बुद्धको संक्षिप्त जीवनी स्मरण गर्दै अकुशल कर्म त्यागेर कुशल कर्म सम्पादन गर्नु र आफ्नो चित्तलाई निर्मल बनाउनु नै बुद्ध शिक्षाको मूल सार भएको बताउनुभयो। धर्मदेशना पश्चात् भिक्षुगणबाट विश्वशान्तिको कामनासहित परित्राण पाठ तथा पुण्यानुमोदन गरिएको थियो ।
कार्यक्रममा बुद्ध प्रतिमा निर्माण गरी आध्यात्मिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने समाजसेवी श्यामलाल चित्रकारलाई चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले दोसल्ला ओढाएर विशेष सम्मान व्यक्त गर्नुभयो । यसअघि पनि हाँडीगाउँमा बुद्ध चैत्य निर्माण गरी समुदायलाई समर्पित गरिसक्नुभएका चित्रकारले विश्व शान्ति बौद्ध विहार लगायत विभिन्न विहारहरूमा समय-समयमा आध्यात्मिक कार्यक्रम तथा उपासकहरूका लागि धार्मिक यात्रा (तीर्थाटन) आयोजना गर्दै आउनुभएको छ ।
फाबुला पार्कमा स्थापित यस बुद्ध प्रतिमाले स्थानीय तहमा भगवान् बुद्धका अमर सन्देशहरू शान्ति, करुणा, मैत्री,धार्मिक सहिष्णुता र अहिंसाको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । साथै, यस पहलले उक्त पार्कलाई केवल मनोरञ्जन स्थलमा सीमित नराखी ध्यान-भावना, आध्यात्मिक चिन्तन र मानसिक शान्तिको एक पवित्र केन्द्रका रूपमा विकसित गर्न विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend