logo बुधबार, भाद्र ३ २०८३ | Wednesday 19th August 2026

कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी, नेपाली बलरसामु ७२ रनमै समेटियो


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौं । नेपालले कर्नाटकको टोलीविरुद्धको अभ्यास खेलमा ११६ रनको फराकिलो जित दर्ता गरेको छ। नेपाली टोलीले दिएको १८९ रनको लक्ष्य पछ्याएको कर्नाटकलाई धारिलो बलिङमार्फत मात्र ७२ रनमा अलआउट गर्दै नेपालले प्रभावशाली जित निकालेको हो।



टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभरमा १८८ रनमा अलआउट भएको थियो। नेपालको इनिङ्समा आसिफ शेखले सर्वाधिक ४९ रन बनाए। उनले ७० बलमा २ चौका र १ छक्का प्रहार गरे। अर्धशतक बनाउन उनी केवल १ रनले चुके।

त्यस्तै ईशान पाण्डेले ३४ रन बनाउँदा देव खनाल र सन्दीप जोराले समान २७–२७ रनको योगदान दिए। तल्लो क्रममा बशिर अहमदले अविजित १९ तथा गुल्सन झाले ११ रन जोडे। अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन्।

कर्नाटकका बलकीर्थि एम.ले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको ५ विकेट लिए। उनको प्रभावकारी बलिङका कारण नेपाली ब्याटरलाई ठूलो स्कोर बनाउन कठिन भएको थियो।

तर दोस्रो इनिङ्समा नेपाली बलरहरूले खेललाई पूर्णतः आफ्नो नियन्त्रणमा राखे। १८९ रनको लक्ष्य पछ्याएको कर्नाटक ७२ रनमै समेटियो। सुरुदेखि नै दबाबमा परेको कर्नाटकका ब्याटरले नेपाली बलिङ आक्रमणको सामना गर्न सकेनन्।

नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १ मेडन राख्दै मात्र ५ रन खर्चेर २ विकेट लिए। करण केसीले ५ ओभरमा ९ रन खर्चेर २ विकेट लिए भने बशिर अहमदले ३ ओभरमा ६ रन दिएर २ विकेट हात पारे।

त्यस्तै शेर मल्लले ६ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। हेमन्त धामी र सन्दीप लामिछानेले समान १–१ विकेट लिएपछि कर्नाटकको इनिङ्स लामो समय टिक्न सकेन।

ब्याटिङमा अपेक्षाकृत मध्यम स्कोर बनाए पनि बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण नेपालले कर्नाटकलाई ठूलो अन्तरले पराजित गरेको हो। अभ्यास खेलमा प्राप्त यो जितले आगामी प्रतिस्पर्धाका लागि नेपाली टोलीको बलिङ पक्ष बलियो रहेको संकेत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend