logo बुधबार, भाद्र ३ २०८३ | Wednesday 19th August 2026

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।



कम्पनीले स्थापना भएको ७९ वर्ष पूरा गरी ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूको सहभागिता रहने कम्पनीले जनाएको छ।

“Connecting Every Risk, Celebrating Every Goal” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जनसँगै बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय, सद्भाव र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति चेतना विकास गर्नु रहेको कम्पनीले जनाएको छ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। कम्पनीका अनुसार प्रतियोगिताको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाबाट उत्साहजनक सहभागिता रहेको थियो।

पहिलो संस्करणको सफलताबाट उत्साहित हुँदै यस वर्ष पनि नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीहरूको उत्साहपूर्ण सहभागिता रहने अपेक्षा कम्पनीले गरेको छ।

नेपाल इन्स्योरेन्स कम्पनीले प्रतियोगितामार्फत बीमा क्षेत्रका कर्मचारीबीच व्यावसायिक सम्बन्धसँगै सहकार्य, सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना थप मजबुत हुने विश्वास व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend