जन आकाश
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङलगायत आसपासका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ। ती नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।
यस्तै, भोलि र पर्सी गण्डकी तथा लुम्बिनी प्रदेश भएर बहने केही साना नदीमा समेत बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले नदी तथा खोला आसपासका बासिन्दालाई मौसम तथा बाढीसम्बन्धी सूचनामा ध्यान दिन र जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend