logo शनिबार, भाद्र १३ २०८३ | Saturday 29th August 2026

राहात दाताहरुले सिडियोसग समन्वय गरेर मात्र प्रभावित क्षेत्रमा जान : प्रधानमन्त्री सचिवालयले अनुरोध


  • जन आकाश
  • शुक्रबार, भाद्र १२ २०८३

काठमाडौ । रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत वितरण तथा उद्धार कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालय सम्बन्धित जिल्ला अधिकारी सग समन्वय गरेर मात्र प्रभावित क्षेत्रमा जान अनुरोध गरेको छ।



​बिज्ञप्तिमा उल्लेख छ “विपद्को यस कठिन घडीमा पीडितहरूलाई सहयोग गर्ने नागरिक तथा सामाजिक संस्थाहरूको भावना र तत्परता सराहनीय छ।

तर, पूर्वसमन्वयविना साना निजी सवारी साधन प्रयोग गरी थोरै-थोरै राहत सामग्री लिएर व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ जाने क्रम बढ्दा सडकमा अत्याधिक सवारी चाप (ट्राफिक जाम) सिर्जना भएको छ। यसका कारण आपत्कालीन बिरामी बोकेका एम्बुलेन्सहरूले सहज रूपमा बाटो पाउन सकेका छैनन् भने नेपाल सरकारका मुख्य उद्धार टोली तथा प्राथमिकताका राहत वाहकहरूसमेत समयमै गन्तव्यमा पुग्न कठिन स्थिति बनेको छ।
साथै, विषम अवस्था र जोखिमयुक्त भूगोलमा पूर्वतयारीविना पुग्दा स्वयं राहतदाताहरूको सुरक्षामा समेत जोखिम थपिन गएको छ।

​तसर्थ, उद्धार तथा राहत कार्यलाई थप भद्रगोल र जोखिमयुक्त हुन नदिन र वास्तविक पीडितसम्म शीघ्र राहत पुर्‍याउनका लागि व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ जाने कार्य रोकी सरकारी संयन्त्रसँग समन्वय गरिदिनुहुन आग्रह गरिन्छ। अबदेखि राहत वितरण वा उद्धारमा सहयोग गर्न चाहने महानुभावहरूले अनिवार्य रूपमा आ-आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी पूर्वसमन्वय गरेर मात्र राहत सामग्री हस्तान्तरण वा परिचालन गरिदिनुहुन अनुरोध छ। सम्बन्धित सिडियो कार्यालयले क्षेत्रगत आवश्यकता र प्राथमिकताका आधारमा सामग्रीहरूलाई सोझै प्रभावित स्थानमा पुर्‍याउने एकीकृत व्यवस्था मिलाउनेछ।
​सद्भाव र सहयोगको भावनालाई कदर गर्दै, राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा राहत सामग्री उपलब्ध गराई उद्धार कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री सचिवालय सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend